१० श्रावण २०८१, बिहीबार

निर्माण व्यवसायीहरुको आग्रह– काम गर्ने अनुमति देऊ



धनगढी । निर्माण व्यवसायीहरुले लकडाउन अघि निर्माण कार्य शुरु भएका विकास निर्माण योजनाको काम गर्ने अनुमति प्रदान गर्न आग्रह गरेका छन् । लकडाउनका कारण अधुरो अवस्थामा रहेका विकास योजनाको निर्माण कार्य लामो समयसम्म रोकिदा निकै नोक्सानी बेहोर्नु परेको गुनासो गरेका छन् ।

धनगढीस्थित खेलमैदानमा निर्माणाधीन प्याराफिट आइतबार परेको वर्षाका कारण प्याराफिटमा पानी जमेको र नालीमा क्षति पुगेको चन्द्रविकास यज्ञलक्ष्मी निर्माण सेवाका प्रोपराइटर विरबहादुर साउदले बताए । उनले प्याराफिट निर्माणका लागि १४ फिट जग खनेर सरिया विच्छायाइएको बताए । उनले भने– वर्षाका कारण वरपरका पर्खाल र नालीको संरचना भत्किइरहेको छ । उनले प्याराफिटको संरचना पुरा गर्न र अन्य निर्माण भएका भौतिक संरचना भत्कन नदिन यथाशिघ्र काम गर्ने अनुमति दिन आग्रह गरे ।

त्यस्तै अरु निर्माण व्यवसायीहरुले पनि लकडाउनका कारण काम बन्द भएका साना तथा ठूला राष्ट्रिय योजनाका कामहरु वर्षाका झन् प्रभावित भएको गुनासो गरेका छन् ।

संघिय सरकारले जिल्ला प्रशासन कार्यालयबाट निर्माण व्यवसायीहरुले सुरक्षा मापदण्ड अपनाएर सञ्चालनको अनुमति दिन निर्देशन दिइसकेको छ । सोही आधारमा सोमबारसम्म कैलालीमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई काम गर्ने अनुमति दिने काम भइरहेको कैलाली जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले अहिलेसम्म अत्तरिया– मोहनापुल छ लेन सडक, रानीजमरा कुलरिया सि“चाई आयोजना, मोहनापुल–राजघाट पुल, सहजपुर–बोगटान, हुलाकी सडक लगायत गरी २२ वटा आयोजनाहरुलाई अनुमति दिइसकिएको बताए ।

उनले भने– जिल्लाभित्र सञ्चालन भएका साना योजनाहरुलाई अनुमति दिइएको जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार