४ जेष्ठ २०८१, शुक्रबार

लकडाउनको प्रभाव : भन्सार राजश्वमा ठूलो ह्रास



धनगढी । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन लागू गरिएपछि भन्सार राजश्व संकलनमा निकै कमी आएको छ ।

उच्च सतर्कतासहित अति आवश्यकीय वस्तु आयातलाई निरन्तरता दिइए पनि लकडाउनका कारण कैलाली मुख्य भन्सार नाका त्रिनगर नाका भएर आयात निकै घटेको छ । आयात घटेपछि भन्सार कार्यालयहरुले लक्ष्यभन्दा निकै कम राजश्व मात्र संकलन गरेका छन् ।
कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार गत चैतमा २५ करोड ५७ लाख ३२ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । भन्सार कार्यालयका लेखापाल भीम भट्टले गत चैत महिनाका लागि भन्सार विभागबाट ५० करोड ५९ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य प्राप्त भएको बताए । गत चैत्रमा लक्ष्यको ५० दशमलव ५४ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।
लेखापाल भट्टका अनुसार बैशाख महिनाका लागि ५३ करोड ७५ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ । कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख डिल्लीप्रसाद शर्माले आइतबारसम्म चार करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको बताए ।
उनले लकडाउन अवधिमा चामल, गहुँ, मकै, सोयावीन, आलु, प्याज, कोइला लगायतका बस्तु भित्रिएको बताए । उनले नेपाल भित्रिने मालबाहक सवारी साधनमाथि सीमा नाका र भन्सार क्षेत्रभित्र प्रवेश गरेपछि सेनीटाइजर तथा कीटनाशक औषधी छर्किने गरेको बताए । सवारी साधनमा अत्यावश्यक सामग्री ल्याउने व्यक्तिलाई पनि मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सुक्षाका सामग्री प्रयोग गर्न भनिएको उनले बताए ।
भन्सार अधिकृत परमान्द जोशीले भन्सार क्षेत्रबाट कोरोना भाइरस भित्रिन नदिन उच्च सावधानी अपनाएर मालसामान आयात गर्ने गरिएको बताए । उनले मालबाहक सवारी साधनका चालक र सहचालकलाई जाँच गर्नुका साथै कुनै किसिमको स्वास्थ्य समस्या नरहेको भनि स्वःघोषणा पत्रमा सही गराएर मात्रै भित्रिन दिने गरेको बताए ।
कैलालीको टिकापुर नगरपालिका वडा नम्बर ७, खक्रौलास्थित सत्ती भन्सार कार्यालयले पनि नाकाबाट भित्रिने सवारी साधनमाथि उच्च सावधानी अपनाइएको निमित्त प्रमुख धर्म विकले बताए ।

कोइला आयात रोक्न माग

यसैबीच, कोभिड–१९ भाइरसको जोखिम बढ्न सक्ने भन्दै अत्यावश्यक बस्तुबाहेक कोइला आयात तत्कालका लागि बन्द गर्न स्थानीय व्यक्तिहरुको माग रहेका छन् ।
सरकारले अत्यावश्यकीय बस्तु बाहेक आयात गर्न नपाउने भने पनि त्रिनगर र खक्रौला नाकाबाट दैनिक कोइला भित्रिदै आएको छ । कोइला बोकेको ट्रकमा मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्न थालेको भन्दै स्थानीयहरुले तत्कालका लागि कोइला आयात बन्द गर्नुपर्ने माग गर्दै आएका हुन् ।
भारतमा कोभिड–१९ को संक्रमण बढिरहेको बेला भारतबाटै कोइला विधिवत रुपमा भित्रिरहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि मालबहाक सवारी साधन माथि उच्च सावधानी अपनाएर भन्सार नाकाबाट भित्र्याउने गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार