निजी प्रयोगशालाले पनि पिसिआर परीक्षण गर्न पाउने, हालसम्म १० हजार ४ सयको कोरोना जाँच
काठमाडाैं । नेपालमा अब निजी प्रयोगशालाले पनि कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षण पिसिआर गर्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका छन्। तर यसका लागि मन्त्रालयबाट छुट्टै स्वीकृति भने लिनुपर्ने उनको भनाइ छ।
यसका साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोनाको पिसिआर परीक्षण सुरु भएको उनले बताए। साेमबार काेराेनाका नयाँ संक्रमित फेला नपरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
हालसम्म नेपालमा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको उनले बताए। यीमध्ये ५२ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किसकेका छन्। हाल अस्पतालमा रहेका ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।