५ जेष्ठ २०८१, शनिबार

नयाँ बजेट बनाउन जुट्यो मन्त्रालय



यस वर्षको बजेटको कोरोनाको क्षति रिकभरलाई

प्राथमिकता दिने गरी स्वास्थ्य, कृषि, रोजगारी, लघु उद्यम र पुर्वाधार निर्माणलाई प्राथमिकता दिइने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट निर्माण तयारीमा जुटेको छ । चालू आर्थिक वर्षमा लक्ष्यको आधा पनि बजेट खर्च हुने सम्भावना निकै न्युन भएका कारण प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटको खर्च हुन बाँकी रकम आगामी वर्षको बजेटमा समावेश गर्नेगरी बजेट निर्माण गर्ने जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षको गत चैत मसान्तसम्म वित्तीय खर्च २१ प्रतिशत मात्रै भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार गत चैत्र मसान्तसम्म चालु र पुँजिगत समेत गरी पाँच करोड ८४ करोड ७६ लाख रुपैयाँ मात्रै खर्च भएकोे छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण देशैभर लकडाउन भएपछि प्रदेश सरकारको सम्पूर्ण विकास निर्माण तथा गतिविधिहरु ठप्प हुँदा बजेट खर्च समेत हुन सकिरहेको छैन । पहिलो र दोस्रो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेको प्रदेश सरकारलाई तेस्रो चौमासिकमा बजेट खर्च गर्न लकडाउनले झन् समस्या परेको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्षको अन्त्यसम्म कुल बजेटको ४०/४२ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ । बजेटको बाँकी अंश आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गर्ने गरी मन्त्रालयले बजेटको तयारीमा जुटेको छ ।

यसले गर्दा प्रदेश सरकारको आगामी वर्षको बजेटको आकार ठूलो हुने भएको आर्थिक मामिला मन्त्रालयका योजना तथा अनुगमन शाखाका प्रमुख तथा सूचना अधिकारी खगेन्द्र साउँदले बताए । उनले तत्काल नै बजेटको एकीन आकार अनुमान नभए पनि चालु आर्थिक वर्षमा करिब ६० प्रतिशत बजेट बाँकी रहने भएकाले आउँदो वर्ष बजेट ठूलो आकारको हुने बताए ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले समेत कोरोनाका कारण यस वर्षको बजेट निकै न्युन मात्रामा खर्च हुने अनुमान गरिएको बताए ।

आर्थिक वर्ष २०७७/७८ बजेट निर्माणका लागि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय गृहकार्यमा जुटेको छ । मन्त्रालयको स्रोत तथा मापदण्ड समितिले बैठक बसेर आन्तरिक स्रोतहरुको प्रतिवेदन पनि बनाइसकेको छ । सूचना अधिकारी साउँदलेविषयगत मन्त्रालयहरुलाई बजेटको सिलि∙ पठाउनका लागि गृहकार्य गरिरहेको बताए ।

संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानिकरण र राजश्व बाँडफाँडको बजेट सिलि∙ समेत पठाइसकको छ । सूचना अधिकारी साउँदका अनुसार सुदूरपश्चिमले संघीय सरकारबाट आउँदो आर्थिक वर्षमा आठ अर्ब ४२ करोड ४३ लाखको वित्तीय समानिकरण र सात अर्ब ८७ करोड ३६ लाखको राजश्व बाँडफाँडको बजेट पाउने छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बजेट निर्माणका लागि मन्त्रालय परारम्भिक परामर्श गरिरहेको बताए । उनले एक दुई दिनमै बजेटको मापदण्ड जारी गर्ने तयारीमा मन्त्रालय रहेको समेत जनाए । उनले यसवर्षको बाँकी बजेट समेत आउँदो वर्षको बजेटका समावेश गरिने भएकाले बजेटको आकारमा बाँकी बजेटले असर पार्ने बताए । मन्त्रालयले अहिले स्रोतहरुको हिसाव गरिरहेको जानकारी दिंदै केही दिनमै बजेटको अनुमानित आकार निर्धारण हुने बताए । त्यसपछि बजेटका प्राथमिकताहरु निर्धारण गरी मन्त्रालयहरुलाई बजेटको सिलि∙ पठाइने आर्थिक मामिला मन्त्री बोहराले बताए ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयलेप्रदेशमा कोरोनाले पारेको असरलाई रिकभर गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट बनाउने तयारी गरेको छ । मन्त्रालयले आउँदो वर्षको बजेटको प्राथमिकता निर्धारणका लागि १५/१५ दिनको म्याद दिएर कोरोना भाइरसले प्रदेशमा असर गरेको विभिन्न क्षेत्रको अध्ययन गर्न समितिहरु बनाएर खटाइएको आर्थिक मामिला मन्त्री बोहराले बताए । उनले कोरोनाको प्रभाव प्रदेशमा अझै कति रहन्छ र कुन क्षेत्रमा कति असर गरेको छ भन्ने विषयले बजेटको प्राथमिकतामा प्रभाव पार्ने बताए ।

उनले प्रदेशमा कोभिड–१९ ले पारेको असरलाई रिकभर गर्ने गरी बजेटको प्राथमिकता निर्धारण गरिने बताए । उनले स्वास्थ्य, कृषि, रोजगार, साना तथा लघु उद्यम र विकास निर्माण नै प्रदेश सरकारको बजेटको प्राथमिकतामा पर्ने परारम्भिक अनुमान गरिएको बताए ।

गतआर्थिक वर्षमा २५ अर्व रुपैयाँको बजेट विनियोजन गरेको सुदूरपश्चिम प्रदेश सरकारले ६० प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार