७ बैशाख २०८२, आईतवार

किसानलाई धानको बीउ पाउन सकस



धनगढी । कोरोना भाइरस (कोभिड–१९) कारण लकडाउन भएपछि कैलालीका किसानले बीउ छर्ने बेला आइसक्दा पनि बीउ पाएका छैनन् ।

लकडाउनका कारण उत्पादक कम्पनीहरुले उन्नत जातका धानका बीउ बजारमा पठाउन नपाएपछि किसानहरुले धानको बीउ खरिद गर्नन नपाएका हुन् । वैशाख मध्यतिरबाट किसानहरुले धानको बीउ राख्ने तरखर गर्ने गरेका छन् । यस वर्ष लकडाउनका कारण बीउ उपलब्ध गराउने पसलहरु समेत सञ्चालन हुन नपाउँदा धानको बीउ पाइएको छैन ।

बीउ उत्पादक कृषि सहकारी र कम्पनीले धानको बीउ बजारसम्म पु¥याउन नसक्दा किसान समस्या परेका छन् । बीउ उत्पादक संघ टीकापुरका अध्यक्ष रामफल कठरियाले बीउको माग भएपनि आफूहरुले मागअनुसारको पठाउन नसकेको बताए । ‘‘धेरै किसानले दैनिक फोन गर्न थालेका छन्, हामीसँग बीउ सञ्चित छ तर पठाउन सकिएको छैन’’, अध्यक्ष कठरियाले भने, ‘‘कैलालीमा उत्पादन भएको बीउ कैलाली मात्र नभई सुदूर र प्रदेश नं ५ का अन्य जिल्लामा पनि जान्छ ।’’

उनले बीउ ढुवानी गर्न प्रशासनिक झण्झटका कारण आफूहरु तनावमा रहेको बताए । अहिले टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा सात बीउ उत्पादक कृषि सहकारीमार्फत यस क्षेत्रका किसानले धान, गहुँ, तेलहन र दलहन बालीको बीउ उत्पादन गरिरहेका छन् । उनीहरु खाद्यान्न बालीको मूल बीउ, प्रमाणित बीउ र उन्नत बीउ उत्पादन गर्छन् । यी सहकारी तथा कम्पनीले स्थानीय किसानलाई बिक्रीवितरण गर्नाका साथै देशैभरिका जिल्लामा पु¥याउने काम गर्छन् ।
‘‘चार वर्ष पहिले कैलाली जिल्लामा भैरहवा, बुटवल र नेपालगञ्जबाट धान, गहुँको बीउ ल्याउनु पथ्र्याे’’, नमूना बहुउद्देश्यीय कृषि सहकारीका अध्यक्ष जितबहादुर चौधरीले भने, ‘‘आजभोलि कैलालीको बीउ देशैभरिका जिल्लामा जान थालेको छ। विभिन्न जिल्लाबाट माग आउन थालेको छ तर पुगाउन सकेका छैनौँ ।’’

यस क्षेत्रका बीउ उत्पादक कृषि सहकारी र कम्पनीसँग गरी अहिले धानको उन्नत बीउ पाँच हजार क्विण्टल छ । जसमध्ये करीब दुई हजार क्विण्टल कैलाली जिल्लाका किसानले प्रयोग गर्छन् भने बाँकी अन्य जिल्लामा निर्यात हुने गरेको छ ।

‘‘समयमा किसानलाई बिक्रीवितरणको लागि बीउ ग्रेडिङ, उम्रने शक्ति मापन, ट्याग र प्याकिङजस्ता सबै तयारी पूरा भएका छन’’, किसान सुन्दरलाल चौधरीले भने, ‘‘लकडाउनकै कारण किसानमाझ पु¥याउन कठिन भयो । समयमै बीउ बिक्री नभए सहकारी र कम्पनी घाटामा जान्छन् ।’’

सरकारले कृषि वस्तु तथा अत्यावश्यक वस्तुलाई पासमार्फत कार्य सञ्चालन गर्न सकिने नीति बनाएको छ । लकडाउनमा ढुवानी गर्ने साधन नपाउने, पाए पनि ढुवानी शुल्क महंँगो र सवारी पासका लागि अनुमति लिन झण्झटिलो रहेको किसानको गुनासो छ ।

‘‘वडा, जिल्ला हुँदै अन्य जिल्लासँग समन्वय गरेर मात्रै ढुवानी गर्न पाइने भएकोले समस्या भएको छ’’, सहकारीका सदस्य सरोज चौधरीले भने, ‘‘बीउ उत्पादकहरु समस्यामा परेको अवस्था छ । यसले उत्पादनमा पनि असर गर्छ ।’’ बीउ ढुवानीको समस्याका बारेमा जिल्ला समन्वय समिति कैलालीको संयोजक सूर्यबहादुर थापाले जिल्ला प्रशासनसँग समन्वय गर्ने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार