१० श्रावण २०८१, बिहीबार

एचआईभी संक्रमित बालबालिकाहरुलाई राहत वितरण शुरु



धनगढी । होपव्रिज संस्थाले सुदूरपश्चिम प्रदेशका एचआईभी संक्रमित बालबालिकाहरुलाई राहत वितरण शुरु गरेको छ ।

राष्टिय एचआइभी एडस महासंघ नेपालको समन्वयमा प्रदेशका नौ वटै जिल्लामा राहत वितरण गर्ने योजना रहेको जनाइएको छ ।

संस्थाले १३ देखी १८ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित रहेको संस्थाका प्रदेश संयोजक महेन्द्र बमले जानकारी दिए ।

उनले सम्बन्धीत वडासंग समन्वय गरेर लक्षित बालबालिकाहरुलाई ‘माया प्याक’ अन्र्तगत खाद्यान्न र कोरोना सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताए ।

उनका अनुसार प्रति बालबालिकालाई १० किलो चामल, पाँच किलो गहुँको पिठो, दुई किलो दाल, दुई किलो गेडागुडी, १० अण्डा, एक लिटर तेल, एक प्याकेट नुन, दुई प्याकेट लिटोका साथै कोरोना किटअन्र्तगत सावुन दुइ, सर्जिकल मास्क पाँच, जीवनजल पाँच, ह्याण्ड स्यानेटाइजर एक बोतल, कोरोना सम्बन्धी अध्ययन सामाग्रीहरु र बालिकाहरुलाई २० थान स्यानेटर प्याड वितरण गर्ने जनाइएको छ ।

प्रदेशमा तीन सय १० जना १८ वर्ष मुनिका एचआइभी संक्रमित बालबालिकाहरु रहेका छन । संस्थाका अनुसार ५० प्रतिशत बालबालिकाहरु टुहुरा रहेका छन भने ५० प्रतिशत १२ वर्ष मुनिका रहेको जनाएको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा एक सय २६ जना रहेका छन ।

यस्तै बन्दाबन्दीलाई प्रतिकुल बनाउन सहयोग गरेको भन्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले संस्थालाइ प्रशंसा पत्र प्रदान गरेका थिए । संस्थाकाे प्रशंसा पत्र बुझ्दै संयाेजक महेन्द्र बमले धन्यवाद व्यक्त गरेका थिए ।

धनगढीबाट शुरु गरेको राहत वितरण अभियान विस्तारै अन्य जिल्लामा पनि सञ्चालन गरिने संयोजक बमले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार