१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा कोरोना संक्रमणः एघार दिनमा नयाँ संक्रमित देखिएनन्



कैलाली । सुदूरपश्चिम प्रदेशमा ११ दिनयता कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित देखापरेका छैनन ।

पछिल्लो पटक बैशाख १ गते लम्कीचुहाका एक अधवैशैं महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । विरगञ्जमा चिया पसल गर्दै आएकी उनी गत चैत ९ गते लम्की आएकी थिइन् । भुरुवा गाउँमा आफन्तकहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

ती महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टिसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच पुगेको थियो । चैत २२ गते कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की एक महिलामा कोरोना पोजिटिभ पुष्टी भएपछि नेपालमा कोरानाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । दुवईबाट चैत ७ गते दिल्ली हुँदै फर्केका अमृत शाहीकी भाउजुमा कोरोनाको संक्रमण देखिएको थियो ।

चार डिस्चार्ज, एक उपचारमा

सुदूरपश्चिम प्रदेशमा कोरोना देखिएका पहिलो व्यक्ति हुन अमृत शाही । उनी वैशाख ९ गते सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भए । उनीभन्दा अगाडी चैत २२ मा कोरोना भाइरस पुष्टी भएका लम्कीचुहा नगरपालिकाका युवा वैशाख ७ गते डिस्चार्ज भएका थिए । बैशाख १० गते कञ्चनपुरको वेदकोट नगरपालिकाका युवा डिस्चार्ज भए । बिहीबार लम्कीचुहाकी पाना विक पनि निको भएर डिस्चार्ज भएकी छिन् । यससंगै सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित रहेकोमा अब एक जना (महिला) मात्र उपचारमा छन् ।

सेती प्रादेशिक अस्पतालले उनको अवस्था पनि सामान्य रहेको जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा हालसम्म ३८ जना शंकास्पद व्यक्तिको उपचार भएको जनाइएको छ । अस्पताल प्रशासनले २४ घण्टा यता नयाँ शंकास्पद व्यक्तिहरु नरहेको जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ९९ जनालाई आइसोलेसन वार्डबाट डिस्चार्ज गरिसकिएको छ भने हाल छ जना आइसोलेसनमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा तीन सय ३३ स्थानमा छ हजार आठ सय ३० बेडको क्वारेन्टीन बनाइएको छ । दुई सय २६ महिला र एक हजार आठ सय १४ पुरुष गरी दुई हजार ४० जनालाई क्वारेन्टीनमा राखिएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

१२ हजार बढीको नमुना संकलन

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण (¥यापिड डाइग्नोष्टिक टेस्ट, आरडीपी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रणालीबाट १२ हजार दुई सय २० व्यक्तिको नमुना संकलन गरिएको छ ।

प्रदेशमा आरडीपी मार्फत नौ हजार पाँच सय १३ र पीसीआरबाट दुई हजार छ सय ४४ व्यक्तिको नमुना संकलन गरिएको जनाइएको छ । र्यापिड टेष्टबाट ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआरबाट ४ जनामा नेगेटिभ देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशभरीमा ९ हजार चार सय ६२ किट मौज्दात रहेको जनाइएको छ ।

थपिए आइसियु र भेन्टीलेटर

सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) र भेन्टीलेटर तथा महाकाली प्रादेशिक अस्पतालमा भेन्टीलेटर थप गरिएको छ ।

कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन सेती प्रादेशिक अस्पतालमा पाँच बेडको आइसियू र एक भेन्टीलेटर थप गरिएको जनाइएको छ । यस्तै, महाकाली प्रादेशिक अस्पतालमा एक भेन्टीलेटर थप गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससंगै प्रदेशको सेती प्रादेशिक अस्पतालमा १० बेडको आइसियू र महाकालीमा चार बेड गरी १४ वेडको आइसियू सञ्चालनमा रहेका छन । धनगढीको निजी अस्पताल नवजीवन र माया मेट्रोमा पाँच–पाँच तथा निसर्गमा छ बेडको आइसियू छन ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा छ, महाकालीमा दुई, दार्चुला र डडेल्धुरा अस्पतालमा एक÷एक गरी १० भेन्टीलेटर रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार