१० श्रावण २०८१, बिहीबार

कञ्चनपुरका इन्द्र विक पनि उपचारपछि घर फर्किए (भिडियो सहित)



सेती प्रादेशिक अस्पतालबाट कोरोनाको उपचार गरेर फर्किने विक तेस्रो व्यक्ति हुन । अव दुई महिला उपचारमा छन् ।

धनगढी, वैशाख १० गते । कञ्चनपुरको बेदकोट नगरपालिका‐१० चतरीका एक ४१ वर्षीय इन्द्र विक कोरोना संक्रमण ठिक भएपछि बुधबार घर फर्किएका छन । उनी सेती प्रादेशिक अस्पतालबाट उपचार ठिक भएर घर फर्किने तेस्रो संक्रमित हुन ।

यसअघि लम्कीचुहाँका राज विक र धनगढीका अमृत शाही घर फर्किएका छन् । अझै ३४ र ६४ वर्षका दुई महिला सेतीमा उपचार गराइ रहेका छन् ।

१८ दिन उपचार गरेर घर फर्किएका विक चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । काम खोज्न चैत २ गते भारत गएर लकडाउनका कारण विक १४ गते घर आएका थिए । उनीसंगै फर्किएका १३ जनाको नेपाली सेनाले स्वाब संकलन गरेको थियो । केन्द्रीय प्रयोगशाला काठमाडौले चैत २२ गते उनमा मात्रै कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

उनी कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका थिए । तर नेपाल भारत दुइवटै देशमा लकडाउन भएपछि १३ गते उनी भारतबाट आएर १४ गते सीमामा पुगे । उनीहरु ब्रहमदेव क्षेत्र भीमदत्त नगरपालिकाको ‐९ मटेनाबाट महाकाली नदीमा पौडी खेलेर नेपाल आएका थिए । तर सशस्त्र प्रहरीले भेटेपछि नियन्त्रणमा लिएर बेदकोट नगरपालिकाको सडकमा छोडेका थिए ।


त्यसपछि उनीसहितका १३ जनाले गाउँमै गएर बस्न खोजे । तर गाउँलेले अवरोध गरेपछि १२ बजे राति नगरपालिकाले क्वारेन्टाइनमा राखेको नगरप्रमुख अशोक चन्दले बताउछन् ।

खेतबारीका नाममा चार कट्टा जग्गा मात्रै भएका उनका श्रीमती, १० वर्षकी छोरी र १५ वर्षको छोरा छन् । बालबच्चाको पालन पोषणका लागि नै उनी कञ्चनपुरबाट नजिकैको छिमेकी उत्तराखण्डको चम्फावतलगायतका जिल्लामा जाने आउने गरिहन्छन् । यसपटक पनि सुन्नी गाउँमा सडक खन्ने गरेर उनीहरु त्यता गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार