९ चैत्र २०८१, आईतवार

कोरोना न्यूनिकरणका लागि सुदूरपश्चिमा रेजिडेन्ट चिकित्सकको टोली



कैलाली । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौँबाट रेजिडेन्ट चिकित्सकको टोली सुदूरपश्चिममा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिम बढेको र संम्भावित जोखिमलाई न्यूनिकरण गर्न भन्दै चिकित्सकको टोली शुक्रबार यति एयरको एटीआर ७२ जहाजमार्फत सुदूरपश्चिम आइपुगेको हो । सो चिकित्सकको टोली संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको हो ।
मन्त्रालयले चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) मा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत ३३ जनाको टोलीलाई यो प्रदेशमा खटाएको हो ।

संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई पठाएसँगै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला जिल्लामा खटाएको छ । यो प्रदेशमा दुई वटा जिल्ला तराई र सात वटा पहाडी जिल्ला रहेका छन् ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पताल लगायत अन्य अस्पतालमा उनीहरुलाई खटाएको जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका डाक्टर भूषण मिश्रका अनुसार चिकित्सक टोलीमा रहेका सेती प्रादेशिक अस्पताल धनगढीमा १४ जना, कञ्चनुरस्थित महाकाली प्रादेशिक अस्पतालमा चार जना, टीकापुर अस्पतालमा दुई जनालाई खटाइएको छ ।

त्यस्तै पहाडी जिल्ला दार्चुला र बैतडीमा दुई/दुई जना तथा बझाङ, डडेल्धुरा र अछाममा तीन÷तीन जनालाई खटाएको डाक्टर मिश्रले बताए ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङख्या पाँच रहेको छ ।

न्याम्समा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत एमडी चिकित्सकहरुले कोरोनाविरुद्धको अभियानका लागि यस प्रदेशमा एक महिनासम्म रहेर काम गर्ने बताइएको छ । टोलीमा इन्टरनल मेडिसिन, एनेस्थेसिया र पेडिट्रिसियन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार