१० श्रावण २०८१, बिहीबार

परीक्षण संख्या बढाउन पशु प्रयोगशालाको उपकरण ल्याउन पहल हुँदै



धनगढी, चैत २४ गते । कोरोना परीक्षण सुस्त हुन थालेपछि धनगढीमा केन्द्रीय पशु प्रयोगशालाको उपकरण ल्याउन पहल हुन थालेको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले सो उपकरण दिनका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषाल सकरात्मक रहेको बताए । सो प्रयोगशालाको पिसिआर मेसिन जतिसक्यो चाँडो ल्याउने पहल भइरहेको पूर्वमन्त्री सोडारीले जानकारी दिए ।
हाल धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना संक्रमणको परीक्षणमा संलग्न सुनिलप्रसाद लेखकले उपकरण ल्याउने बारे सरसल्लाह भइरहेको बताए । उनले सो उपकरण सञ्चालन गर्न थप के के सामाग्री चाहिन्छ भन्ने अध्ययन भइरहेको बताए । धनगढीको एलएनचोकमा रहेको पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा केही सामान र राम्रो भौतिक सुविधा रहेकोले त्यही नै प्रयोगशाला चलाउने सम्भावना रहेको छ ।
गत मंगलबार संघीय सरकारले चीनबाट ल्याएर पठाएको सो मेसिनले दैनिक आठ जनाको मात्रै परीक्षण गर्ने गर्दछ । भने पशु प्रयोगशालाको उपकरणले एक पटकमा ९० स्वाब परीक्षण गर्न सक्छ । पशु प्रयोगशालाको उपकरणले दिनमा तीन पटक परीक्षण गर्न सक्छ । त्यसरी परीक्षण हुँदा दैनिक २७० को हाराहारीमा स्वाब परीक्षण गर्न सक्ने बताइएको छ । एकपटकमा ९० वटा स्वाबको परीक्षण गर्न साढे तीन घण्टासम्म लाग्ने विज्ञ लेखकले बताए । अहिले सेतीमा रहेको उपकरणले झण्डै एक घण्टा १० मिनेटमा एउटा मात्रै स्वाब परीक्षण गर्ने गरेको छ । सो गतिमा काम हुँदा दिनभर आठ वटा मात्रै स्वाब परीक्षण गर्न सक्ने अवस्था छ ।
सुदूरपश्चिममा चार जना कोरोना संक्रमित देखिएपछि धेरै भन्दा धेरैको स्वाब परीक्षण गर्नु पर्ने माग उठ्न थालेपछि पशु प्रयोगशालको पिसिआर उपकरण ल्याउन पहल भइरहेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी बताए । उनले चाँडै अरु तीनवटा पिसिआर मेसिन ल्याउनका लागि टेण्डर भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार