१० श्रावण २०८१, बिहीबार

बाआमा पाल्न १२ वर्षको उमेरदेखि रोजगारी खोज्न मुम्वई जान्थे लम्कीचुँहाका संक्रमित



धनगढी । कैलालीको लम्की चुँहा नगरपालिका ‐९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित युवा रोजगारीका क्रममा भारतको महाराष्ट्र आउने जाने गरिरहन्छन् ।
१२ वर्षको उमेरदेखि नै भारतको महाराष्ट्र राज्यको मुम्वईसंग जोडिएको ठाना जिल्लाकोे कल्याण महानगर टिटौला भन्ने ठाउँमा गएर उनले पानी वितरण कम्पनीमा काम गर्ने गरेको थिए । यसपटक महाराष्ट्रबाट फर्किन नपाएको एक वर्ष पुगेको थियो । त्यही क्रममा विश्वभर कोरोना भाइरसको आतंक फैलिएर रोगजारी गुमेपछि तीन दिन लगाएर चैत १० गते राति धनगढीको त्रिनगर नाका पुगेका थिए ।
त्यति बेला नेपालले भारत र चीनको सीमाबाट हुने आगमन रोकिसकेको थियो । त्यसपछि रातभर उनी सयौका साथमा दशगजा क्षेत्रमै बसेका थिए अर्को दिन ११ गते नारा जुलुसको दवावपछि उनीहरुले नेपाल आउन पाएका थिए । त्यही क्रममा लम्की चुँहा नगरपालिकाले वडा नम्बर ७ र ९ का लागि बनाइएको क्वारेन्टाइनमा उनलाई बसाइएको थियो ।
सो क्वारेन्टाइनमा ४२ जना थिए अरु सबैको नेगेटिभ देखिएको छ तर २१ वर्षीय ती पुरुषलाई कोरोनाको संक्रमण देखियो । उनीहरुको चैत १९ गते सेनाको टोलीले स्वाब नमूना संकलन गरेको थियो । यद्यपी उनलाई रुघा, ज्वरो, घाँटीको कुनै समस्या थाहा पाउने गरेर छैन । उनको पारिवारिक स्रोतका अनुसार उनी अविवाहित हुन । उनी मुनी दुई भाइ छन् । तीन कट्टा प्रति जग्गा छ । दलित समुदायका उनका वुवा पनि ६० वर्षका छन् भने आमा पनि ५० वढीकी छन् । बाबुआमा र भाईहरुको जीवनयापन सहज बनाउन उनी भारत गएर काम गर्ने गर्दथे ।
उनलाई पनि शनिबार नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ ।
मेरो अवस्था ठिकै छ चौथो कोरोना संक्रमित
नेपालका चौथो कोरोना संक्रमित ३४ वर्षीया युवकले आफ्नो स्वास्थ्य अवस्था ठिकै भएको बताएका छन् । उनी सुदूरपश्चिम र धनगढीका भने पहिलो संक्रमित हुन ।
अलिअलि पखाला लागेको छ । जीवन जल खाइरहेको छु । त्यसका साथै चिकित्सकको सल्लाहमा ग्यास्टिक, निद्रा लगाउने औषधि खाइरहेको छु उनले गोरखापत्रसंगको कुराकानीमा भने, त्यस्तो कमजोर भएको महशुस गरेको छैन् ।
उनी संयुक्त अरब इमिरेट (यूएई) को दुवईबाट चैत ७ गते इमिरेट एअरलाइन्समा दिल्ली, दिल्लीबाट विस्तारा एअरलायन्समा काठमाडौ आएका थिए । काठमाडौ एक रात बसेर वुद्धअएरबाट चैत ८ गते नेपालगञ्ज, नेपालगञ्जमा अटोरिक्सामा कोहलपुर, कोहरलपुरबाट माइकोमा अत्तरिया र अत्तरियाबाट बसमा धनगढी आएका थिए ।
त्यसक्रममा उनी तीन रात घरमा बसेर चैत ११ गते मात्रै श्रीमतिको दवावमा सेती प्रादेशिक अस्पताल गएका थिए । सेतीले दुवईबाट आएको भनेपछि अस्पतालमै बस्न लगाएको थियो । उनमा चैत १४ गते कोरोना संक्रमण पुष्टी भएको थियो । राष्ट्रिय प्रयोगशालाले सो पुष्टी गरेको हो ।
यसरी लाग्यो चौथो संक्रमितका आफन्तलाई कोरोना
ती चौथो संक्रमितको परिवार सगोल छ । सगोल परिवारमा श्रीमति, छोरी आमावुवा, दाजुभाउजु र दुई भतिजाभतिजी छन् । तीनै मध्येका एक ३४ वर्षीया एक महिलालाई संक्रमण भएको शनिबार पुष्टी भएको छ । राष्ट्रिय प्रयोगशालाले सो परिवारका अरुको नमूना भने नेगेटिभ भएको जनाएको छ । चौथो संक्रमितसंग नजिक रहेका अरु दुईको नमूना पनि नेगेटिभ देखिएको छ ।
३४ वर्षीया महिलालाई पनि सेती प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको छ । नेपालमै बसेर पनि कोरोना संक्रमण भएकी ती महिला पहिलो हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार