१ जेष्ठ २०८१, मंगलवार

कैलालीमा घरमै बसेकी महिलामा कोरोना देखिएपछि लोकल ट्रान्समिसनको खतरा बढ्यो



धनगढी । नेपालमै रहेका व्यक्तिमा पनि कोरोना भाईरसको संक्रमण देखिएपछि नेपालमा कोरोना भाईरस दोस्रो चरणमा प्रवेश गरेको आंकलन गरिएको छ । अहिले सम्म संक्रमण भएकाहरु बाह्य देशबाट आएका भएपनि नेपालमा पहिलो पटक धनगढीकी स्थानिय महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीकी ३४ वर्षीय महिला कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट संक्रमण दोस्रो चरणमा प्रवेश गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

शनिबार पत्रकार सम्मेलनमा उनले भने, ‘जो महिला संक्रमित भेटिनु भएको छ, उहाँ एक जना संक्रमितको परिवारको सदस्य हुनुहुन्छ। हामीलाई जानकारी भएसम्म उहाँको ट्राभल हिस्ट्री छैन । त्यसले गर्दा यो पहिले केश हो जहाँ हामी दोस्रो चरणमा प्रवेश गरेको देखिएको छ। अहिले सम्म जो संक्रमित व्यक्तिहरुमा मात्र देखिरहेको अवस्थामा अहिले एक जनामा परिवारको सदस्यमा पनि गएको देखिन्छ । जसलाई हामी लोकल ट्रान्समिसन भनेर भन्छौँ ।’

डा. देवकोटाले पछिल्लो घटनाले क्वारेनटाईनमा अझ गम्भीरतापूर्वक बस्नुपर्ने बताए । ‘१४ दिनपछि पनि क्वारेन्टिनको समय थप्नुपर्छ, घरमै बस्नुपर्छ,’ उनले भने ।

योभन्दा अगाडि धनगढीमा दुबईबाट दिल्ली हुँदै धनगढी आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । शनिबार संक्रमित भएको पुष्टि भएकी महिला यसअघि संक्रमण भएका युवककी भाउजु हुन ।

मन्त्रालयका अनुसार एक जना संक्रमित व्यक्तिबाट अर्को व्यक्ति संक्रमित भएको नेपालमा यो पहिलो केस हो । बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ व्यक्तिमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार