२ जेष्ठ २०८१, बुधबार

क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्था सामान्य



डोटी । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को सँंक्रमण रोकथामका लागि जिल्लाका बिभिन्न स्थानीय तहहरुको क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएकोे छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार भारतबाट फर्केर क्वारेन्टाइनमा बसिरहेकाहरु र लकडाउन अगाढी नै आएर समुदाय स्तरमा बसेकाहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

डोटी जिल्लाका बिभिन्न स्थानमा स्थापना गरिएका २४ क्वारेन्टाइनमा ३ सय ९४ जनालाई राखिएको छ । क्वारेन्टाइनमा राखिएकाहरुमा कोरोना भाइरस सँक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ । धेरैजसो ब्यक्तिहरुलाइ क्वारेन्टाइनमा बसेको एक हप्ता भन्दा बढी भइसकेको छ ।

क्वारेन्टाइनमा राखिएकाहरुको दैनिक रुपमा स्वास्थ्य अवस्थाको परिक्षण गर्ने गरिएको छ । डोटीको आदर्श गाउँपालिका अन्तरगत मौवा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुका अनुसार क्वारेन्टाइनमा राखिएकाहरुको दैनिक रुपमा शरिरको तापक्रम, ज्वारो, रुघाखोकी लगायतका लक्षणहरुको परिक्षण र आबश्यक परामर्श दिने गरिएको छ ।

डोटी जिल्लावाट यस अघि कोरोना भाइरस सँक्रमणको शंका लागेका तिन जनाको स्वाव परिक्षण गरिएकोमा सबैको नेगेटिभ आएको छ । जिल्लाका बिभिन्न स्थानीय तहहरुले बिद्यालय, सार्वजनिक भवन लगायतका स्थानहरुलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार