२ जेष्ठ २०८१, बुधबार

नरभक्षी चितुवा खोरमा



बैतडी । बैतडीको तल्लोसोराडमा मानवबस्तीमा पसेर क्षति पुर्याउँदै आएको नरभक्षी चितुवा खोरमा फसेको छ ।

जिल्लाको मेलौली नगरपालिका वडा नं ९ असुरमा विज्ञ टोलीले स्थानीय सामग्रीको सहयोगमा बनाएको खोरमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी बताएका छन् । खोरमा चितुवा फसाउन बाख्राको पाठी राखिएको थियो ।

यही चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका दुईजना विज्ञ असुरमा पुगेर खोर निर्माण गरेका थिए । चितुवाले मानवबस्तीमा क्षति पुर्याएको ठाउँमा फलामे र काठे खोर गरी तीनओटा खोर राखिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले मेलौली नगरपालिका–९ असुर गाउँमा पुगेर चितुवालाई नियन्त्रणमा लिनका लागि खोर राख्नुभएको थियो ।

काठको खोरमा चितुवा फसेको स्थानीय जगदीश भट्टले बताए । उनले भने, ‘बिहीबार राती काठको खोरमा बाख्राको पाठी राखेका थियौं । चितुवा त्यही पाठी खान जाँदा फसेको छ । चितुवा खोरमा फसेपछि हामी निकै खुसी भएका छौं।’ नरभक्षी चितुवा खोरमा फसेको बिषयमा राष्ट्रिय निकुञ्ज विभागमा जानकारी गराईसकेको र त्यहाँबाट विज्ञहरुको टोली आएपछि चितुवालाई बेहोस बनाएर स्थानान्तरण गरिने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले जनकारी दिएका छन् ।

नरभक्षी चितुवाले तल्लोसोराड क्षेत्रमा २०६८ साल यता २५ जनाको ज्यान लिईसकेको छ । चितुवाले गएको फागुन २७ मा ओछ्यानबाटै मेलौली ९ असुरकी ८ बर्षीय सीता लुहारको ज्यान लिएपछि विज्ञ टोलीको सहयोगमा खोर राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार