२३ बैशाख २०८१, आईतवार

३ सय नेपाली दार्चुलापारि अलपत्र, भन्छन्- महाकालीको पानी खाएर बसेका छौं



दार्चुला- भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय बढी नेपालीहरु सीमामा अलपत्र परेका छन्। पिथौरागढ, डिडिहाट, मुन्स्यारीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ जना नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन्।

शुक्रबार राति १० बजेसम्म दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएकाे थियाे। राति १२ बजेपछि भारतको धारचुलामा आइपुगेका नेपालीहरु अलपत्र परेका हुन्। धारचुलामा अलपत्र परेका नेपालीकाे उद्धारका लागि प्रयास भएको छैन।

नेपाल भारत दुवैतर्फ लकडाउन भएकाे अवस्थामा नेपाली मजदुरहरु तीन दिनकाे पैदल यात्रापछि पिथौरगढबाट धारचुला आइपुगेका हुन्। भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन्।

मार्मा गाउँपालिका ५ का दिलेन्द्र महताले तीन दिनदेखि खान नपाएकाे बताए। ‘चाउचाउ र विस्कुट किन्न पनि पाइएको छैन्, उनले टेलिफोनमा भने, धारचुलामा अहिले बढी मान्छे भएपछि सडक छेउ र महाकाली किनारमा आएर बस्नुपरेको छ।’

यस्तै अपिहिमाल गाउँपालिका ५ का सुनिल धामी आफ्ना ठेकेदार र मेटले समयमै रकम नदिँदा आउन ढिलाई भएको बताउँछन्। ‘काम गरेको रकम पनि आधा दिएको छ। २ हजार रुपैयाँ दिएर पठाएको हो। अहिले धारचुलाम के खाने भन्ने भइरहेको छ,’ उनले भने, भारतीय प्रहरीले सामाजिक दूरी बनाएर बस भन्छन्। महाकाली बगर क्षेत्रमा महाकाली नदीको पानी खाएर बसेका छौ।’

धारचुलामा सबैभन्दा बढी बैतडी जिल्लाका नागरिक रहेका छन्। प्राप्त विवरणअनुसार दार्चुला मार्मा गाउँपालिकाका ३८ जना, अपिहिमाल गाउँपालिका ५ जना, शैल्यशिखर नगरपालिका ११ जना रहेका छन्। यस्तै बैतडी जिल्ला पूर्च्याैडी नगरपालिका १ सय ६४ जना, डिलाशैनी गाउँपालिका ६२ जना छन्। बझाङ जिल्ला बुङ्गल नगरपालिकाका ३० जना, र जाजरकोटका ३ जना रहेका छन्।

दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले अलपत्र परेका नेपालीकाे उद्धारका लागि पहल सुरु भएकाे बताए। ‘शुक्रबार २२५ जनाकाे जसरी उद्धार गरियो, त्यसरी नै अहिले पनि अलपत्र परेकाहरु आफ्नो देश ल्याउन पहल गरेको छु,’ उनले भने, ‘आज भोलिमै उद्धार हुन्छ।’ उनले सम्बन्धित स्थानीय तहले गाडी व्यवस्थापन र क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्ने गरी उद्धारको तयारी भइरहेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार