२३ बैशाख २०८१, आईतवार

भारतमा बिना तलब सय बढी नेपाली होटेलबाट निकालिए



खुला ठाउँमा बास, लकडाउनका कारण प्रहरीले लखेट्दै

डडेल्धुरा । कोरोना भाइरस(कोभिड–१९) त्रासकाबीच भारतमा ठूलो संख्यामा नेपालीहरु होटेलबाट निकालिएका छन् ।

भारतको गुजरातमा पर्ने राजकोट सहरका बिभिन्न ठाउँमा एक सय भन्दा बढी नेपालीहरु होटेलको कामबाट निकालिएका हुन् । कोरोना भाइरसका कारण पुरै भारत लकडाउन गरिएका बेला तलब नै नदिई त्यहाँका होटेल मालिकहरुले कामबाट निकालिदिएपछि एक सय भन्दा बढी नेपालीहरु आफ्नो सम्पर्कमा आएको राजकोटमै रहेका डडेल्धुराका सन्दिप बोगटीले जानकारी दिए ।

अलपत्र परेका मध्ये धेरै जसो भारतमा जनता कफ्र्यु लगाएको अघिल्लो दिन कामबाट निकालिएको उनले जानकारी दिए । कोरोनाको कारण देखाउँदै होटेल बन्द गरेर आफुलाई कामबाट निकालेको र तलब पनि नदिएको बोगटी मार्फत सम्पर्कमा आएका राजकोटस्थित एक होटलमा काम गर्ने डडेल्धुराको अमरगढी नगरपालिका ४ सुनेडाका तीर्थ बहादुर बिष्टले गुनासो गरे । होटेलबाट निकालिएसँगै उनीहरुको एक हप्तादेखी खुला आकाशमुनीको बास भएको छ । बिभिन्न स्थानमा फरक–फरक समूहमा उनीहरु खुला ठाउँमा दिनरात काटिरहेका छन् ।

लकडाउन भएका बेला खुला ठाउँमा देखेपछि त्यहाँको प्रहरीले समेत उनीहरुलाई लखेटिरहेको छ । प्रहरीले एक ठाउँबाट लखेटेपछि उनीहरु अर्को ठाउँमा दिनरात काटिरहेका छन् । “बाहिर खुला ठाउँमा दिनरात काट्नु पर्ने अवस्था छ, तर त्यहाँ पनि प्रहरीले बस्न दिदैन् । लखेट्ने गरेको छ ।”, अर्का पिडित केशव बिष्टले दुःख पोखे । तलब नै नदिएपछि किनेर खानलाई गोजीमा पैसा पनि नभएको र होटेल र पसलहरु समेत बन्द गरिएको हुँदा आफुहरु खान, बस्न नपाउँदा निकै समस्यामा रहेको अर्का पिडित धर्म साउँदले बताए ।

राजकोट सहरमा बिभिन्न समूहमा फरक–फरक ठाउँमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेको जानकारी दिदै खान बस्न समेत समस्या भएको हुँदा उद्दार गरि दिन नेपाल सरकारका साथै सुदूरपश्चिम प्रदेश सरकारलाई समेत उनीहरुले गुहार मागेका छन् । उनीहरुले भारतमै काम गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफुहरुको समस्या बुझ्न सक्ने भन्दै उद्दारको आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार