८ जेष्ठ २०८१, मंगलवार

धनगढीका कोरोना सक्रमितको विमानदेखि रिक्सासम्मको यात्रा



धनगढी- कोरोना पुष्टि भएका धनगढीका युवक देशका विभिन्न स्थान हुँदै सो ठाउँमा पुगेको खुलेको छ।

दुबईबाट ती युवक भारत हुँदै गत चैत ७ (मार्च २०) मा काठमाडौं अवतरण गरेका थिए। उनी एकदिन काठमाडौंमै आफ्नो मामा–माइजुको घरमा बसेका थिए।

‘घरमा मामा थिएनन्’, उनले आफन्तलाई भनेका छन, ‘काठमाडौंमा म मामाको घरको अलग्गै कोठमा बसेको थिए।’

उनी मामाको छोरासंग एअरपोर्टबाट मोटरसाइकलमा मामा घर आएको बताइन्छ । काठमाडौको वसपार्क पनि पुगेका उनले वस नपाएपछि धनगढी जहाजमा आउन खोजेका थिए । धनगढीको जहाज नपाएपछि उनी नेपालगञ्जको जहाजमा आएका थिए ।

ती युवकले चैत ८ (२१ मार्च) काठमाडौंबाट नेपालगञ्जसम्म बुद्ध एयरको फ्लाइटमा यात्रा गरेका थिए।

विमानस्थलदेखि कोहलपुरसम्म विद्युतिय रिक्सा, कोहलपुरबाट कैलालीको अत्तरियासम्म माइक्रो र अत्तरियादेखि धनगढीसम्म भने बसमा यात्रा गरेका थिए।

धनगढी पुगेपछि भने उनी परिवार बाहेक कसैसँग सम्पर्कमा नआएको पनि जनाइएको छ। 

दुबईमा उनी एसी रुममै काम गर्ने भएकाले रुघाखोकी उनलाई सामान्य जस्तै लाग्ने गरेको थियो। धनगढी पुगेका उनलाई श्रीमतिले अस्पताल जान सुझाव दिएपछि एकजना भाइ नाता पर्नेले उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरेको जनाइएको छ।

उनका आफन्तका अनुसार दुवईदेखिका जहाजका टिकट भने उनले सुरक्षित राखेका छैनन् । उनलाई ९७ डिग्री ज्वरो मात्रे देखिए छ भने सामान्य खोकी लागेको छ ।

कैलाली प्रहरीले उनलाई भर्ना गर्ने व्यक्तिको खोजी गरिरहे पनि फेला पार्न नसकेको जनाएको छ। 

यस्तै, कोरोना संक्रमित युवाका आफन्तलाई पनि प्रशासनले आइसोलेसनमा राख्न सकेको छैन। शुक्रबार अबेर रातिसम्म अस्पतालको आइसोलेसनमा ल्याउन पहल भए पनि एम्बुलेन्स नपाउँदा प्रहरी त्यतिकै फर्केको थियो।

एम्बुलेन्स नपाएपछि आफन्तलाई पैदलै अस्पताल ल्याउन आग्रह गर्दा उनीहरुले अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार