१७ बैशाख २०८१, सोमबार

सांसद् रावल पाँच लाख धरौटीमा रिहा



धनगढी । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभाका सांसद् अक्कलबहादुर रावल धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कैलालीले उनलाई पाँच लाख रुपैयाँ धरौटी लिएर सोमबार रिहा गरेको हो । जिल्ला न्यायाधिश जयानन्द पनेरुको एकल इजलासमा सोमबार भएको थुनछेक बहसबाट अदालतले सोमबार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
जिल्ला अदालत कैलालीका सूचना अधिकार नरबहादुर नेगीले सोमबार थुनछेक बहसबाट पाँच लाख रुपैयाँ धरौटी तोकिएको बताए । उनले सांसद् रावलले अदालतमा सो धरौटी रकम जम्मा गरेर रिहा भएको बताए । उनले तत्काल साँक्षी प्रमाण पेश गर्ने मिति नतोकिएको पनि बताए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश संसदीय दलका सचेतक अक्कलबहादुर रावलको विरुद्धमा धनगढीकी एक महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी गरेपछि उनी स्वयम् प्रहरी कार्यालयमा फागुन २१ गते उपस्थित भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बलात्कार प्रयास गरेको आरोपमा उजुरी परेपछि सो सम्बन्धी जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा आएका प्रदेश सांसद् रावललाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रहरीले तीन पटक अदालतबाट म्याद थप गराएर घटनाको बारेमा अनुसन्धान गरेको थियो ।
प्रदेश सांसद रावल विरुद्ध एक महिलाले फागुन १४ गते उजुरी दर्ता गराउँदै माघ २१ गते रावलले आफूलाई बलात्कारको प्रयास गरेको प्रहरीलाई जनाएकी थिइन् । प्रदेश सांसद रावलले आफूमाथि लागेको आधार झुठो र निराधार रहेको बताउँदै मुद्दा फेस गर्ने जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार