६ जेष्ठ २०८१, आईतवार

कालोबजारी गर्ने व्यापारी परे फन्दामा



धनगढी । संकटको वेला उल्टै कालोबजारी गर्ने मध्येको एक व्यापारीलाई दुई लाख रुपैया जरिवाना गरिएको छ ।
कैलाली जिल्ला बजार अनुगमन समितिले बजार अनुगमनका क्रममा बिना बिलबिजक ठूलो परिमाणमा आलु बिक्री गरेको भेटिएपछि तत्काल दुई लाख रुपैया“ जरिवाना गरिएको छ ।
कैलाली जिल्ला प्रशासन कार्यालय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र धनगढी उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले आलुको कालोबजारी गरेको फेला परेपछि धनगढीको ओम शारदा ट्रेर्डसका सञ्चालक शारदा साउदलाई दुई लाख रुपैया जरिवाना गरेको छ । संयुक्त अनुगमन टोलीले शुक्रबार धनगढी बजार अनुगमन गरेको थियो ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा ओम शारदा ट्रेर्डसले बिना बिलविजक तीन सय ९२ बोरा आलु खरिद गरी चैत १ गतेदेखि ७ गतेसम्म बिक्री गरेको भेटिएपछि कानुनी कारबाही गरिएको बताए ।
कैलालीमा कालोबजारी गर्ने अथवा अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई दुई लाख रुपैया जरिवाना गरिएको यो पहिलो पटक हो । बजार अनुगमन समितिलाई बजार अनुगमनका क्रममा कुनै व्यापारीले कालोबजारी गरेको पाइएमा दुई लाखदेखि तीन लाख रुपैया जरिवाना गर्न सक्ने अधिकार रहेको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख पुनमगरले भने– यस्तो संकटको वेला पनि कालोबजारी गरेको भेटिएमा जोकोही भए पनि हदैसम्मको कारबाही गर्छौ ।
यसअघि, अनुगमन समितिले धनगढीको पाथिभारा किराना एण्ड तरकारी सप्लार्यस र न्यू गणेश किराना पसल एण्ड सप्लायर्सलाई १५÷१५ हजार रुपैया जरिवाना गरेको थियो ।
चैत ६ गते बजार अनुगमन गर्दा बजार अनुगमनका क्रममा ती दुई पसलबाट म्याद नाघेका विभिन्न खाद्यवस्तु भेटिएकाले जरिवाना गरी म्याद नाघेका खाद्यवस्तु जफत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार