नेपाली भूमिमा रहेका सिमास्तम्भ हटाउन माग
धनगढी । नेपाल भारत सीमा सर्भे टोलीले कञ्चनपुरमा नेपाली भूमिमा गाडेका जंगे पिलर हटाउन माग गर्दै राष्ट्रिय जनमोर्चा नेपाल, सुदूरपश्चिम प्रदेश समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय जनमोर्चाले अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र स्ट्रिप नक्सा पुरावलोकन गर्न माग गर्दै शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जनमोर्चाका प्रदेश अध्यक्ष नन्दराज भट्ट नेतृत्वको एक टोलीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा अहिले भइरहेको स्ट्रिप नक्सा अनुसारको सीमा सर्भेले नेपाली भूमि वैधानिक रुपमै भारततर्फ पर्न गएको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । यदि नेपाली भूमि मिचेर सीमा सर्भे कायम राखिए त्यस विरुद्ध आन्दोलन गर्ने राजमोले चेतावनी दिएको छ ।
सो अवसरमा प्रदेश अध्यक्ष भट्टले नेपाली पक्षको कमजोरीका कारण भारतले गरेको अतिक्रमणलाई वैधानिकता दिने काम भइरहेको आरोप लगाए ।
सन् १९८१ मा नेपाल–भारत बीचको सिमा सिमांकन गर्न गठन भएको उच्चस्तरी प्राविधिक समितिले २६ वर्ष लगाएर सिमांकन गरेको र ९७ प्रतिशत काम टुंग्याएको दाबी गरिएको उनको भनाई छ । बा“की रहेको भनिएको तीन प्रतिशत सिमांकन राजनीतिक तहबाट टुंग्याउने सहमति भए पनि लामो समयसम्म टुंगिन नसकेको उनले बताए ।
कञ्चनपुरको ब्रह्मदेव मण्डिदेखि कालापानीसम्म र नवलपरासीको सुस्तालगायतका क्षेत्रमा रहेको सीमा समस्यालाई राजनीतिक तहमा टुंगो लगाउने निर्णय अनुसार दुई देशबीच सीमा सर्भेको काम भइरहेको उनले बताए ।
‘सिमांकनका क्रममा दुई पक्षले तयार पारेको स्ट्रिप नक्सा अनुसार कञ्चनपुरमा भैरहेको सीमा स्तम्भ गाड्ने कामले नेपाली भूमि वैधानिक तवरबाटै भारततिरमा गाभ्ने वा नेपाली भूमिमाथिको दाबी छोड्ने काम भएको छ’ उनले भने– बेल्डा“डी गाउ“पालिकाको वडा नम्बर ३ मा रहेको सीमा स्तम्भ नम्बर ३१, ३२ र ३३ का कारणले नेपाल तर्फको नहर भारततर्फ पार्ने काम भएको छ ।
हालै कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारत संयुक्त सीमा सर्भे टोलीले गरेको सीमा निर्धारणका क्रममा वर्षौंदेखि नेपाली जनताले खेतीपाति गरिरहेको लालपुर्जावाला जमिनमा सीमा पिल्लर गाडिएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले बेल्डा“डीमा सीमा पिलर तोडेका छन् भने राजमोले घटनास्थलमै पुगेर नेपाली सर्भे टोलीले बदमासी गरेको भन्दै विरोध जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी खतवडाले विवादित क्षेत्रमा अहिले पिल्लर निर्माणको काम बन्द गरिएको बताए । उनले छिट्टै ती क्षेत्रको पुनःनापी गरिने बताए । उनले भने– हामीले संघीय सरकारलाई जानकारी गराइसकेका छौं । अहिले कोरोना भाइरसका कारण नापी विभागका टोली आएका छैनन् । कोरोनाको त्रास हटेसंगै टोलीले स्थलगत पुनः नापी गर्ने छ ।
ज्ञापनपत्र बुझाउन राजमाका प्रदेश अध्यक्ष भट्टका साथै किसान महासंघका नेता हरिकृष्ण पाण्डे, कञ्चनपुरका जिल्ला अध्यक्ष रामबहादुर कार्की, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, राजमो प्रदेश सदस्य लक्षीराम आचार्य, कैलालीका सचिव जगत जोशी, जिल्ला कोषाध्यक्ष बिक्रम बिक, महेश भट्टलगायत नेताहरू सहभागी थिए ।