८ जेष्ठ २०८१, मंगलवार

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि थप प्रयास



  • प्रदेश सरकारको आह्वान– कम्तिमा एक सातासम्म भारत नजानुस्
  • उच्च निगरानी कक्षा थपिंदै
  • सिमानाकाका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाइँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कम्तिमा एक सातासम्म भारत नजान नेपाली नागरिकहरूमा आग्रह गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाईरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तिमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको छ ।
बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको जनाइएको छ । त्यस्तै, बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएमा उपचारका लागि आवश्यक पर्ने पूर्व तयारीका विषयमा समेत छलफल भएको थियो ।
मुख्यमन्त्री भट्टले कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरोकारवालालाई निर्देशन दिएका छन् ।
प्रदेश स्तरीय कोरोना नियन्त्रण समितिका अध्यक्ष समेत रहेका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना सम्भावितका लागी उच्च निगरानी कक्ष थप्ने निर्णय भएको बताए ।
प्रदेशका नौ वटै जिल्लामा केहि निगरानी कक्ष भए पनि कैलालीको धनगढी र महेन्द्रनगरमा थप केहि निगरानी कक्ष अर्थात आईसोलेशन वार्ड थप्ने तयारी भएको जानकारी दिए ।
त्यसै, भारतसंग सिमा जोडिएका स्थानीय तहका प्रमुखहरूलाई सिमानाका आवातजावतमा कडाई गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारले आवश्यक रकमको व्यवस्था गर्नेे बताए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण फैलिन नदिन तथा फैलिएमा कसरी व्यवस्थापन गर्न भन्ने विषयमा बैठकमा छलफल भएको धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर बहादुर वडले बताए । उनले धनगढी उपमहानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागी संघिय र प्रदेश सरकारसंग समन्वय गरी काम गरिरहेको जानकारी दिए ।
कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टले पछिल्लो समय गड्डाचौकी हुदै भारतका विभिन्न शहरबाबाट नेपाल आउने नेपालीको संख्या उच्च रहेको बताए । उनले भारतसंग सिमा जोडिएका नाकामा निगरानी गर्न सकेमात्रै पनि धेरै हदसम्म कोरोना भाइरस नियन्त्रण गर्ने सकिने बताए । उनले कञ्चनपुरमा थप निगरानी कक्ष स्थापनाका लागि पहल गरिरहेको बताए ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार