२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम खाना महोत्सव : अहिलेसम्मकै सबैभन्दा ठूलो भक्केरोटी पकाइँदै



धनगढी । धनगढीमा भोली (बुधबार) देखि शुरु हुने सुदूरपश्चिम खाना महोत्सवमा अहिलेसम्मकै सबैभन्दा ठूलो भक्केरोटी प्रस्तुत गरिने भएको छ । भक्केरोटी सुदूरपश्चिम प्रदेशको पहाडी समुदायको मौलिक तथा विशिष्ट खानाको परिकार हो ।
कैलाली होटल व्यवसायी संघको आयोजनामा हुने खाना महोत्सवको तयारीबारे जानकारी दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा सबैभन्दा भक्केरोटीका साथै एक हजार लिटर क्षमताको भाडोमा सुदूरपश्चिम प्रदेशको अर्को मौलिक खानाको परिकार फाडो पनि पकाइने संघले जनाएको छ ।
सो अवसरमा संघका अध्यक्ष कलमबहादुर बमले प्रदेशका नौ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी पञ्कन्याद्वारा नौ वटा दियो प्रज्ज्वलित गर्दै महोत्सवको उद्घाटन गरिने बताए ।
संघका अध्यक्ष बमका अनुसार प्रदेशका सबै नौ जिल्लाको प्रतिकका रुपमा नौं वटा बेलुनसहितको फूलगुच्छा उडाइने छ । त्यस्तै, नेपाली मौलिक बाजाको एक प्रमुख बाद्यवादन नरसिंहा बजाएर महोत्सव उद्घाटन गरिने छ ।
महोत्सवमा मकै, कोदो, बेथे, फापर र जौंका परिकारका साथै प्रदेशका विभिन्न समुदायका मौलिक खानाका परिकार प्रस्तुत गरिने छ ।
आयोजक कैलाली होटल व्यवसायी संघका अनुसार महोत्सवमा २८ वटा खानाका तथा नौं वटा अन्य वस्तुको स्टल रहने छन् ।

महोत्सवमा राखिएका स्टलमा निःशुल्क प्रवेशको व्यवसथा गरिएको छ ।
“मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना, पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने नाराका साथ धनगढीमा खाना महोत्सव आयोजना हुदैछ ।
भोली (बुधबार) देखि धनगढीमा आयोजना हुने विश्व नेपाली साहित्य महोत्सव हु“दैछ । साहित्य महोत्सवमा सहभागी हुन आउने विश्वभरीका नेपाली भाषी साहित्यकारहरूले खाना महोत्सवको पनि अवलोकन गर्ने र यसले सुदूरपश्चिम प्रदेशका मोलिक खानाको विश्वभरी प्रचारप्रसारमा सघाउ पुग्ने आयोजकको अपेक्षा छ ।
संघका अध्यक्ष बमले भने– खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय खाद्य उत्पादनबाट खानाको परिकार तयार गरिने छ । यसले सुदूरपशिचमका मौलिक खानाका परिकारको विदेशमा पनि माग बढ्ने अपेक्षा गरेका छौं ।
त्यस्तै, खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक परम्परा, भेषभुषा, संस्कार र संस्कृति झल्किने आयोजकको विश्वास छ । महोत्सवमा खानाका परिकारहरू स्थानीय दुना, टपरी र बोहतामा पस्किने जनाइएको छ ।
आयोजक संघले ग्लोबल नेपजिल सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण भण्डारीको नेतृत्वको एक टोलीले सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्र र समुदायका मौलिक खानाका परिकारको अध्ययन गरिरहेको जनाएको छ । संघका अध्यक्ष बमका अनुसार सेफ फेडरेशनका अध्यक्ष भण्डारीले अहिलेसम्मको सबैभन्दा ठूलो भक्के रोटी, र एक हजार लिटर क्षमताको भाडोमा फाडो पकाउने तयारी गरेका छन् ।
महोत्सवमा पोखराको प्रख्यात बारटेण्डर समेत प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार