२ जेष्ठ २०८१, बुधबार

प्रज्ञा प्रतिष्ठान र खेलकुद विधेयकमाथि सैद्धान्तिक छलफल



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।
सामाजिक विकास मन्त्रालयले तयार गरी प्रदेश सभामा पेश गरेका दुवै विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रस्ताव गरेका थिए ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लि“दै प्रमुख प्रतिपक्ष दल नेपाली का“ग्रेसका प्रदेश सभा सदस्य भरतवहादुर खड्काले पारित भएका विधेयक कार्यान्वयनमा ध्यान दिनुपर्ने टिप्पणी गरे ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्य दिर्घबहादुर सोडारीले विधेयकमा कला, साहित्य र दर्शनका पक्षलाई समेट्नु पर्ने बताए ।
राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सभा सदस्य मालामति रानाले विधेयकले प्रदेशका सबै संस्कृतिलाई समेट्नुपर्ने बताइन् ।
नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रज्ञा प्रतिष्ठान विधेयक मस्यौदामा विज्ञहरूको सुझाव सम्बोधन हुनुपर्ने बताए ।
त्यस्तै, प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै नेकपाका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले विधेयकमा खेल क्षेत्रको विकासका लागि उपयुक्त वातावरण बनाउन र खेलाडीको सुरक्षा र लगानी लगायतका पक्ष पनि विधेयकमा समेटिनुपर्ने बताए ।
नेपाली का“ग्रेसका प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले विधेयकमा सबै जिल्लामा खेलकुद शिक्षक दरबन्दीको व्यवस्था गरिनुपर्ने बताए ।
त्यस्तै, नेकपाका प्रदेश सभा सदस्य लीलाधर भट्टले खेलाडीको स्तरोन्नतिका लागि कल्याण कोषको व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तै, प्रदेश सभा सदस्य शान्ति नेपालीले समानुपातिक तथा समावेशीताका आधारमा खेलाडी छनौटको प्रावधान हुनुपर्ने बताए ।
सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार