२ जेष्ठ २०८१, बुधबार

अत्तरिया–मोहना छ लेन सडककाे तीन पुलको डिपिआर तयार



?

धनगढी । निर्माणाधीन अत्तरिया–मोहनापुल छ लेन सडक आयोजना अन्तरगत बन्ने तीन वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
छ लेन सडक आयोजना अन्तर्गत पर्ने मोहनापुल, सुनिखोला र मनोहरा खोलामा निर्माण हुने पुलको डिपिआर तयार पारिएको मोहनापुल–अत्तरिया छ लेन सडक आयोजना कार्यालयले जानकारी दिएको छ ।
आयोजना प्रमुख होमबहादुर एमसीले सडक विभागले तीन खोलामा निर्माण हुने पुलको डिपिआर तयार गरेर पठाएको बताए । उनले भने– अब तीन वटै पुल निर्माणका लागि ठेक्कापट्टा प्रक्रिया अघि बढ्ने छ ।
उनले छ लेन सडकको काम तिव्र गतिमा अघिबढिरहेको बताए । सो सडकमा कालोपत्रे गर्ने कार्य पनि अघि बढाइएको छ ।
आयोजना प्रमुख एमसीले निर्माणाधिन मोहना अत्तरिया छ लेन सडकको दोस्रो पटक म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाकोे म्याद दोश्रो पटक एक बर्षका लागि थपिएको छ ।
सडक निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीले गत मंसिरदेखि पटकपटक भएको वर्षाका कारण काम गर्न कठिनाई भएकाले सडक निर्माण अवधि थप गर्नका लागि निवेदन दिएका थिए । आयोजना प्रमुख एमसीले सडक विभागले निर्माण कम्पनीहरूको आवेदन स्वीकृत गरेको बताए ।
सो सडक आयोजनाको पहिलो पटक छ महिनाका लागि म्याद थप गरिएको थियो । ‘सर्वाजनिक खरिद ऐनको आठौं संशोधनले छ महिनाका लागि मात्रै म्याद थप गर्ने प्रावधान ल्याएको थियो” आयोजना प्रमुख एमसीले भने– निर्माण कम्पनीहरूले पनि त्यसै अनुसार कामलाई तिब्रता दिएका थिए, तर नवौं संशोधनले पुनः म्याद थप गर्न सकिने बाटो खुला गरेपछि व्यवसायीले दिएको दोश्रो म्याद थपको निवेदन एक वर्षका लागि स्वीकृत भएर आएको छ ।
पहिलो पटक म्याद थप हुँदा ६ लेन सडककको पहिलो खण्ड निर्माण गर्ने ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सनको म्याद २०७६ मंसिर ६ र दोश्रो तथा तेश्रो खण्ड निर्माण गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको म्याद माघ १५ सम्म थपिएको थियो ।
सो समयमा लगातार हिउ“दे वर्षा हु“दा व्यवसायीले काम गर्न नसकेको उनीहरूले गुनासो गर्दै आएका थिए । ‘हामीले जेठ मसान्तसम्म जसरी पनि सडकको कालोपत्रे सक्ने गरी काम गर्न व्यवसायीलाई दवाब दिएका थियौं’ आयोजना प्रमुख एसीले भने– तर दोश्रो पटक सडकको म्याद थप हु“दा कामको गति प्रभावित हुने देखिएको छ ।
पहिलो खण्ड (मोहना–बोराडाडी) सडक निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्सनका सञ्चालक ईश्वरी भट्टले जेठ भित्रै सडक कालोपत्रे गरि सक्ने गरी सडकको काम अघि बढाइएको बताए ।
दोश्रो तथा तेश्रो सडक खण्ड निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले कालोपत्रे बाहेकको सडक निर्माण कार्यलाई पुरा गर्न दोश्रो पटकका लागि म्याद थपको निवेदन दिएको बताए ।
उनीहरूले जेठभित्रै कालोपत्रेको काम सम्पन्न गरिसक्ने र डिभाइडर, फुटपाथ, सडक पेन्टिङ र सर्भिस ट्रयाक लगायतका काम सम्पन्न गर्न म्याद थप गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार