१० श्रावण २०८१, बिहीबार

कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरिएको छ ।
मन्त्रालयले कार्यालयको मुख्य भवनको माथिल्लो तल्लामा सामाजिक विकास महाशाखा कक्षको छेउमै स्तनपान कक्ष निर्माण गरेको जनाएको छ ।
कार्यालयमा स्तनपान गर्ने उमेरका बच्चा भएका महिला कर्मचारी र बच्चासहित बिभिन्न कामका लागि मन्त्रालयमा पुग्ने महिला सेवाग्राहीका लागि स्तनपान कक्ष निर्माण गरिएको हो ।
मन्त्रालयले निर्माण गरेको स्तनपान कक्षमा एकै पटक दुई जना आमाले शिशुलाई स्तनपान गराउन सक्ने व्यवस्था मिलाइएको छ ।
निश्चित अवधिको सुत्केरी विदापछि महिला कर्मचारीहरूले काममा फर्किनु पर्दा कार्यालयमा सेवाग्राही र पुरुष कर्मचारीका वीच बसेर स्तनपान गराउन समस्या हुन थालेपछि हरेक कार्यालयमा छुट्टै स्तनपान कक्ष आवश्यक रहेको भन्दै यसको निर्माणका लागि अधिकारकर्मीहरूले पहल गरिरहेका थिए ।
मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख कमला शाहीले कर्मचारी र सेवाग्राही दुबैलाई लक्षित गरेर स्तनपान कक्ष निर्माण गरिएको बताइन । उनले कार्यालयमा कर्मचारीले पनि स्तनपानमा समस्या भोग्ने गरेको र सेवाग्राहीले झन समस्या भोग्ने गरेका कारण समस्यालाई बुझेर स्तनपान कक्ष निर्माण गरिएको बताइन ।
स्तनपान कक्षमा दुई वटा बेडसंगै बालबालिकाका लागि खेल्न विभिन्न सामाग्रीहरू राखिएको छ । मन्त्रालयले झण्डै दुई लाख लगानीमा सो स्तनपान कक्ष स्थापना गरेको जनाएको छ ।
सामाजिक विकास महाशाखा प्रमुख शाहीले मन्त्रालय मातहात रहेका हरेक कार्यालयमा स्तनपान कक्षको स्थापना गर्न पनि आग्रह गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार