३ जेष्ठ २०८१, बिहीबार

हात्तीपाइले रोग निवारण अभियान शुरू



फाइल तस्बिर

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा आजदेखि हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएकाे छ ।
प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा स्थानीय तहहरूमार्फत हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन गरिएको हाे ।
सन् २०१३ मा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिएको थियो । प्रदेशका पहाडी सात जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सफल भए पनि आठौं चरणमा पुग्दा समेत कैलालीमा भने अपेक्षाकुत रूपमा सफल हुननसकेको तथ्यांकले देखाएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने आठौं चरणको अभियान अन्तर्गत प्रदेशका दुई वटा जिल्लामा आजदेखि अभियान सञ्चालन भएकाे जानकारी दिए । स्वासथ्य निर्देशक डाक्टर अवस्थीले भने– कञ्चनपुरमा हात्तीपाइले रोग विरूद्धको औषधि यहि वर्षमात्र खुवाइने छ भने कैलालीमा भने अर्को वर्ष पनि खुवाउनुपर्ने देखिएको छ ।
कैलालीमा हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गर्ने प्रतिशत आर्थिक वर्ष २०७५÷७६ मा ६९ प्रतिशत मात्र रहेको थियो । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने प्रतिशत कमजोर भएका कारण कैलालीमा नौ चरणको अभियान पनि सञ्चालन गर्नुपर्ने भएको छ ।
कैलाली स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार कैलालीमा गत वर्ष आठ लाख २९ हजार १३ जनसंख्या मध्ये छ लाख ३५ हजार तीन सय सात जनाले हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गरेका थिए ।
कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष जिल्लाको कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिएको छ ।
त्यस्तै, पाँच लाख १७ हजार दुई सय ५० जनसंख्या रहेको कञ्चनपुर जिल्लामा गत आर्थिक वर्ष २०७५÷७६ मा तीन लाख ८६ हजार दुई सय ५० जनाले हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गरेका थिए । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सिद्धराज भट्टले यस वर्ष ८५ प्रतिशत जनसंख्यालाई हातीपाइले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिइएको बताए ।
नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइले रोग विरूद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरसहित देशका १३ वटा जिल्लामा यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गरिने जनाइएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफनै उपस्थितिमा खुवाउनुपर्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
स्वास्थ्यकर्मीका अनुसार यो औषधि खाली पेटमा खानुहुंदैन । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तीहरूमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने समस्या देखिनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्ने स्वास्थ्यकर्मीहरू बताउछन् । ती लक्षणहरू केहि घण्टा भित्रमा आफैं हराएर जाने हुन्छ । केही गरी ती लक्षणहरू लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार