३ जेष्ठ २०८१, बिहीबार

कर चुक्ता प्रमाणपत्र किर्ते गर्ने बस्नेत र अग्रवाल दुई महिनासम्म पनि पक्राउ परेनन्



धनगढी । कर चुक्ता प्रमाण पत्र किर्ते गरेर टेण्डर लिएको अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाललाई पक्राउ गर्न अदालतको अनुमति पाएको झण्डै दुई महिना पुग्न लाग्दासम्म पनि प्रहरीले पक्राउ गरेको छैन् ।
उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको र उनीहरु दुबै जना नेपाल भन्दा बाहिर रहेको सूचना पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले दुबै सञ्चालकहरु भारतमा लुकेको सूचना पाइएको बताए । उनीहरुलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको भएपनि नेपाल बाहिर रहेकोले पक्राउ गर्न नसकिएको उनले बताए ।


अमित मेडिसिन डिस्ट्रिब्युटर्सले गेटा आँखा अस्पतालको औषधी आपुर्ति गर्ने टेण्डर लिनका लागि आर्थिक वर्ष २०७३÷०७४, २०७४÷०७५ र २०७५÷०७६ मा कर चुक्ता गरेको प्रमाण पत्र किर्ते गरेको हो । यी तीन वटै आर्थिक वर्षमा पेश गरिएका कर चुक्ता प्रमाणपत्रहरु किर्ते रहेको आन्तरिक राजश्व कार्यालय धनगढीले पुष्टि गरिसकेको छ । औषधि व्यवस्था विभागले टेण्डर लिन कर चुक्ता प्रमाण पत्र किर्ते गरेको समाचारहरु सार्वजनिक भएपछि छानवीन गर्न मंसिर १३ गते आन्तरिक राजश्व कार्यालय धनगढीलाई लेखेको पत्रका आधारमा गरिएको छानवीनले अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको पु्ष्टि गरेको हो ।
आन्तरिक राजश्व कार्यालय स्रोतका अनुसार गेटा आँखा अस्पतालको टेण्डर प्रक्रियाका लागि पेश गरिएको कर चुक्ता प्रमाण पत्र स्क्यानिङ गरेर मिति सच्याएर पेश गरिएको पुष्टि भएको छ । कार्यालयले प्रहरीलाई अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाललाई पक्राउ गरी कार्वाही गर्न प्रहरीलाई पत्र लेखेको छ । २०७४ सालको माघ १० गते अमित मेडिसिनका नाममा कुनै कर चुक्ता प्रमाणपत्र जारी नभएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

तीन आर्थिक वर्षसम्म लगातार कर चुक्ता प्रमाण पत्र किर्ते गरेको पाइएपछि थप छानवीनका लागि आन्तरिक राजश्व कार्यालयले अमित मेडिसिनको आर्थिक कारोबारको दस्तावेज रहेको कम्प्युटर समेत जफत गरेको थियो । आन्तरिक राजश्व कार्यालयले कम्प्युटरमा रहेका सूचनाहरु आफ्नो कम्प्युटरमा सारेर कम्प्युटर फिर्ता गरेको जानकारी दिएको छ । कार्यालय स्रोतका अनुसार कम्प्युटरमा रहेका सूचनाहरु अध्ययन गर्दा थप केही कारोबार समेत शंकास्पद देखिएका छन् ।
अमित मेडिसिनकै व्यवस्थापनमा सञ्चालन भई ठूलो कारोबार गरिरहेका ड्रग सेन्टर धनगढी र डि.बी. मेडिसिनले पनि बिभिन्न कागजपत्र किर्ते गरेको उजुरी परेकोले तिनीहरुमाथि पनि औषधि व्यवस्था बिभागको निर्देशन अनुसार विभागको नेपालगञ्ज कार्यालयले छानवीन अगाडि बढाएको स्रोतले बताएको छ ।
गेटा आँखा अस्पतालको टेण्डर हत्याउन कर चुक्ता प्रमाण पत्र किर्ते गरेको अमित मेडिसिन डिस्ट्रीब्युटर्सकै व्यवस्थापन अन्तर्गतको अर्को व्यवसायिक प्रतिष्ठानले पनि प्रादेशिक स्वास्थ्य निर्देशनालयको टेण्डर हत्याउन किर्ते कागज पेश गरेको छ ।
अमित मेडिसिनकै व्यवस्थापनले कारोबार गर्ने ड्रग सेन्टर धनगढीले आइरन फोलिक एसिड ट्याब्लेट, भिटामिन ए क्याप्सुल र कुपोषित बालबालिकालाई पोषण पु¥याउन प्रयोग हुने आरयुटिएफ (च्ग्त्ँ) नामक औषधी आपुर्तिका लागि खुलेको टेण्डर हत्याउन औषधिको उत्पादक कम्पनीले दिने आधिकारिक बिक्रेताको पत्र किर्ते गरेको भेटिएको छ ।
आर्थिक बर्ष २०७५÷०७६ मा खरीद भएको आइरन फोलिक एसिड ट्याब्लेट, भिटामिन ए क्याप्सुल र कुपोषित बालबालिकालाई पोषण पु¥याउन प्रयोग हुने आरयुटिएफ(च्ग्त्ँ) सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाई ड्रग सेन्टर धनगढीले आपुर्ति गरेको थियो । सोही आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि प्रयोग हुने औषधि आइएमएनसिआई लागि मागेको बोलपत्रका लागि औषधी उत्पादक कम्पनी क्युरेक्स फर्मास्ट्युकल्स प्रालिले दिएको आधिकारिक पत्रलाई स्क्यानिङ गरी प्रदेश निर्देशनालयलाई पनि दिएर टेण्डर हत्याएको खुलेको छ । क्युरेक्सले दिएको आधिकारिक पत्रमा सामाजिक विकास मन्त्रालयको टेण्डरका लागि दिएको आधिकारिक पत्रमा मन्त्रालयको नाम र टेण्डर नम्बर समेत उल्लेख छ । ड्रग सेन्टरले स्क्यानिङ गरी किर्ते गर्दा मन्त्रालयको नाम हटाउन बिर्सेर सो पत्र टेण्डरमा हालेपछि उसले त्यहाँ समेत किर्ते गरेको खुलेको हो ।
निर्देशनालयले जारी गरेको बोलपत्रको सूचनामा आधिकारिक पत्र नहुनेको बोलपत्र रद्द गरिने उल्लेख गरेको थियो । कर चुक्ता नगर्दा टेण्डर हाल्न नपाइने कानूनी प्रावधानका कारण टेण्डर हत्याउने प्रयोजनका लागि सरकारी कागज किर्ते गरिएको देखिएको छ । २०७४÷०७५को कर चुक्ता नगरेका कारण टेण्डरको समय घर्किन लागेकोले कर चुक्ता प्रमाण पत्र किर्ते गरिएको देखिन्छ । पुरानो पत्र हटाएर नया राख्ने काममा गेटा आँखा अस्पतालको लेखा र स्टोर शाखाका कर्मचारीहरुको समेत मिलोमतो रहेको स्रोतले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्रलाई स्क्यानिङ गरेर त्यसमा मिति परिवर्तन गरी किर्ते गरी पेश गरिएको पत्रमा हस्ताक्षर गरेको मिति र पत्र जारी भएको मिति समेत मिलेको छैन् । माघ ४ गते जारी भएको पत्रमा कर अधिकृतको हस्ताक्षर मुनिपट्टी माघ ५ गतेको मिति राखिएको छ । सोही फरकपनले समेत कागज किर्ते गरेको प्रष्ट देखिन्छ ।
पत्रमा हस्ताक्षर भएका अधिकृत साम्बाहाम्फे असोजमा नै सरुवा समेत भइसक्नुभएको थियो । उनीहरु बिरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा मुद्धा चलाइने प्रहरीले जनाएको छ । यस्तो कसुर प्रमाणित भएमा सरकारले दाबी गरेको बिगो र सोही अनुसार जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुने ब्यवस्था रेहको अधिवक्ता गम्भीरसिंह ऐरले बताए । धनगढी पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार