३ जेष्ठ २०८१, बिहीबार

एक जिल्लामा एक सडक बनाउन अर्थको समितिको निर्देशन



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले एक जिल्लामा एक सडक बनाउने योजनालाई तत्काल कार्यान्वयनमा ल्याउन प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको ७० औ बैठकले भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरालाई बोलाएर प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको एक जिल्ला एक सडक कार्यक्रमलाई तत्काल लागू गर्न निर्देशन दिएको हो ।
सभापति गोविन्द कुँवरका अनुसार समितिले प्रदेश गौरवका आयोजनाहरु पनि अघि बढाउन निर्देशन दिएको छ । उनले भने “ हामीले विस्तृत योजना बनेका योजना लागू गर्न, प्रदेश वस सेवा सञ्चालन गर्न, सडक दुर्घटना कम गर्न आवश्यक पहल लिन र वजेट कार्यान्वयन गर्न समेत निर्देशन दिएका छौ ।


सो अवसरमा तल्लो चमेलिया जलविद्युत आयोजनामा संघीय सरकारले हस्तक्षेप गरेर नीजि कम्पनीलाई दिइएकोमा समितिले असन्तुष्टी जनाएको जानकारी बैठकमा सहभागी समितिका सदस्य महेशदत्त जोशीले दिए ।
जोशीका अनुसार सो अवसरमा मन्त्री बोहराले प्रदेश सरकारले चमेलिया आफै बनाउने तयारी गरिरहेकै वेला संघीय सरकारले नीजि कम्पनीलाई निर्माण गर्ने जिम्मा दिएको जवाफ दिए ।
चमेलिया १९.२८ मेघावट रहेको छ । प्रदेश सरकारले २० मेघावटसम्मका जलविद्युत परियोजना आफै निर्माण गर्न पाउने संबैधानिक अधिकार छ ।
समितिलाई जवाफ दिने क्रममा मन्त्री बोहराले् एक जिल्ला एक सडक लगायतका प्रदेशका गौरवका आयोजना निर्माणका लागि चाडै टेण्डर निकाल्ने तयारी रहेको वताएका थिए । समितिका सदस्यहरुले मन्त्रालयमा योजना दिदा आर्थिक अनियमितता भएको भन्ने चर्चा वारे पनि मन्त्री बोहरालाई सोधेका थिए । बैठकमा ११ जना समितिका सदस्यहरुमध्ये दीर्घबहादुर सोडारी, अक्कल रावल, पूर्णा जोशी, प्रेमप्रकाश भट्ट र कृष्णबहादुर चौधरीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार