१ माघ २०८१, मंगलवार

प्रदेश मन्त्रालयले शुरु गर्‍यो रोटा खोप अभियान



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नियमित खोपसंगै रोटा खोप र सरसफाई अभियान शुरु गरेको छ ।
रोटा खोप तथा सरसफाई अभियानका क्रममा प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार धनगढीमा जनस्वास्थ्यकर्मीहरूको सहभागितामा प्रदेशस्तरीय अभिमुखीकरण तथा योजना गोष्ठी शुरु भएको छ । गोष्ठी आगामी बिहीबार) सम्म सञ्चालन हुने जनाइएको छ ।
प्रदेशका सबै जिल्लाका जनस्वास्थ्यकर्मीहरूको सहभागिता रहेको गोष्ठीबाट अभियान सञ्चालनका लागि प्रदेशका प्रत्येक जिल्लामा सञ्चालन गरिने क्रियाकलापका योजना तयार गर्ने प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले प्रदेशस्तरीय गोष्ठीबाट प्रशिक्षक प्रशिक्षण लिएर जनस्वास्थ्यकर्मीहरूले सम्बन्धित जिल्लाका स्थानीय तह र वडास्तरमा स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिनुका साथै स्थानीयस्तरका कार्ययोजना बनाउने बताए ।
कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका परिवार कल्याण महाशाखाका खोप प्रवद्र्धन अधिकृत भरत भण्डारीले सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत बालबालिकाले शुरुको खोप पाए पनि अन्तिम खोप लिंदासम्म २१ प्रतिशत बालबालिका ड्रप आउट हुने गरेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार अझैं पनि एक प्रतिशत बालबालिका खोपको पहुचमा आएका छैनन् ।
उनले बालबालिकालाई दादुरा रुबेला खोप अन्तिममा दिइने गरेको रसो खोपबाट २१ प्रतिशत बालबालिका बञ्चित हुने गरेको बताए । उनले नियमित खोप कभरेज ९५ प्रतिशत पु¥याउने उद्देश्यले नेपाल सरकारले “दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोपसंगै रोटा खोप र सरसफाई प्रबद्र्धन कार्यक्रम’ ल्याएको बताए ।
उनले झाडापखाला संक्रमणकोे कारणमध्ये ३० प्रतिशत रोटा भाइरसको कारणले हुने गरेकाले सरकारले यसै वर्षदेखि रोटा खोप लगाउने कार्यक्रम लागू गरेको बताए । उनले रोटा भाइसका कारण बालबालिकालाई चिसोको समयमा झाडापखाला लाग्ने गरेको बताए । यद्दपि, ७० प्रतिशत अन्य भाइसरका कारण झाडापखाला लाग्ने गरेकाले रोटा खोप अभियानसंग सरसफाई पनि जोडिएको बताए ।
उनले आउने चैत १ देखि ३० गतेसम्म सातै प्रदेशमा दादुरा रुबेला तथा रोटा खोप अभियान सञ्चालन गरिने बताए । उनले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा दोस्रो चरण र बा“की प्रदेशमा पहिलो चरणमा अभियान सञ्चालन हुने बताए ।
गोष्ठी उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले यस अभियानले सुदूरपश्चिमलाई पूर्ण खोपयुक्त बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले खोप लिंदालिंदै लिन छोड्ने २१ प्रतिशत बालबालिकाको खोजी गर्न र त्यसको कारण पत्ता लगाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार