२२ बैशाख २०८१, शनिबार

स्थानीय न्यायिक समितिलाई सघाउँदै “भल्मन्सा”



धनगढी/कैलालीका अधिकांस स्थानीय न्यायिक समितिको न्यायसम्पादन प्रक्रियामा परम्परागत सामाजिक अगुवा भल्मन्सा, बडघर सहयोगी बन्दै आएका छन् । कैलालीका तराईका धेरैजसो स्थानीय न्यायिक समितिले न्याय सम्पादन प्रक्रियामा भलमन्सा, बडघरको सहयोग लिने गरेका छन् ।
स्थानीय न्यायिक समितिले ऐनले तोकेका विषय वा विवादमा पक्ष, विपक्ष दुवैलाई आमुन्नेसामसन्ने राखेर छलफल गर्ने र मेलमिलाप गराउने काम गर्दै आएका छन् । थारु समुदायको बाहुल्य भएका स्थानीय तहका न्यायिक समितिले विवादको समाधानमा भलमन्सा वा बडघरको सुझावलाई प्राथमिकतामा राख्ने गरेका छन् ।
कैलारी गाउँपालिका वडा नम्बर ४ का भल्मन्सा तीर्थप्रसाद नेपालले फौजदारी मुद्दा बाहेक गाउ“घरमा सिर्जना हुने हरेक विवादहरूको गाउँमै समाधान गर्ने गरिएको बताए । उनले भलमन्सा वा बडघरले समाधान गर्न नसकेका विवाद वा उजुरीलाई मात्रै न्यायिक समितिमा पठाउने गरेको बताए । उनले भने– भलमन्सा वा वडघर र न्यायिक समितिका काम एकै किसिमका भएकाले काम गर्न सजिलो भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ३ का भल्मन्सा महेन्द्र कुमार चौधरीले न्यायिक समिति, प्रहरी प्रशासन र अदालती प्रक्रिया झन्झटिलो र खर्चिलो हुने गरेकोले अझैं पनि प्रायः विवाद भल्मन्साहरू कहाँ नै आउने गरेको बताए । उनले भने– जटिल विवाद मात्रै हामीले न्यायिक समिति पठाउने गरेको छौं ।
त्यस्तै गाउँपालिका वडा नम्बर २ का भल्मन्सा राजन घिमेरेले गाउ समाजमा शान्ति सुरक्षा र सुशासन कायम गर्न भल्मन्साको विशेष भूमिका रहने गरेको बताए ।
त्यस्तै, वडा नम्बर ४ आर्दश टोलका भल्मन्सा गंगाप्रसाद शर्माले गाउँ समाजलाई एकतावद्ध गराउन र सानाठूला विवाद सुल्झाउन भल्मन्साको अहम् भूमिका रहेको बताए ।
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले ऐनले न्यायिक समितिलाई दिएको अधिकारको आधारमा कार्यविधि बनाएर भल्मन्साहरूलाई न्यायिक समितिमा समावेश गर्न सकिने बताए ।
उनले थारु समुदायमा न्याय सम्पादनको पहिलो खुट्कीलो भल्मन्सा रहेको बताए । भने– हामीले न्याय सम्पादन कार्यविधि तयार गरेका छौ । त्यसमा भल्मन्साहरूलाई पनि जोडेका छौ ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लक्ष्मी सत्गौवा थारुले भल्मन्साहरूले सिफारिस गरेपछि मात्रैे विवाद वा उजुरी न्यायिक समितिमा आउने गरेको बताइन् । संयोजक सत्गौवाथारुका अनुसार न्यायिक समितिमा बढिजसो साँध सिमाना, खानेपानी, सेफ्टी ट्यांकी, लेनदेन, घरेलु हिंसा, मानाचामल, घरायसी झगडा, सम्बन्ध विच्छेद, घर निर्माण रोक्का, क्षतिपूर्ति भराउने जस्ता उजुरी आउने गरेका छन् ।
अढाई वर्षको अवधिमा एक सय ८६ उजुरी
कैलारी गाउँपालिकाको न्यायिक समितिमा अढाई वर्षको अवधिमा एक सय ८६ वटा उजुरी आएका छन् । न्यायिक समिति संयोजक सत्गौवाथारुका अनुसार न्यायिक समितिमा आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा गरेर एक सय ३३ वटा उजुरी दर्ता भएका थिए । त्यस्तै, चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो छ महिनामा ५३ वटा उजुरी दर्ता भएका छन् ।
उनले हालसम्म एक सय २६ वटा विवादमा मेलमिलाप गराइएको बताइन् । उनले भनिन्– न्यायिक समितिको छुट्टै कार्यकक्ष र इजलास छैन । हामीले मेरै कार्यकक्षमा इजलास चलाउने र छलफल गर्ने गरेका छौं । उनले अहिलेसम्म न्यायिक समितिमा कानूनी सल्लाहकार र आवश्यक कर्मचारीको अभाव रहेको बताइन् ।
भल्मन्सालाई न्यायिक अभिमुखीकरण
कैलारी गाउँपालिकाका भलमन्साहरूको लागि एकदिने न्यायिक तथा मेलमिलाप सहजीकरण सम्बन्धि अभिमुखीकरण गोष्ठि भएको छ ।
युनिक नेपालको आयोजना तथा सेफर वल्र्डको सहकार्यमा सो गोष्ठी भएको थियो ।
युनिक नेपालका वरिष्ठ अधिकृत शोभा चौधरीले थारु समुदायमा न्याय सम्पादनको लागि योगदान गर्दै आएका भल्मन्सालाई मुलुकी संहिता, कानुन र संविधानको बिषयमा ज्ञान आवश्यक रहेकोले न्यायिक अभिमुखीकरण गोष्ठि आयोजना गरिएको बताइन् ।
गोष्ठीमा कैलारी गाउपालिकाका २५ जना बडघर र भल्मन्साको सहभागिता रहेको थियो । गोष्ठीमा अधिवक्ता जोहारीलाल चौधरीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार