१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको पाचौ अधिवेशन शुरु



प्रतिपक्ष कडा रुपमा प्रस्तुत

चेतावनी – हामी नै प्रदेश सभाका पहिलो र अन्तिम सदस्य बन्ने अवस्था नहोस्
टिप्पणी – केही मन्त्री लगाम बिनाका घोडा जस्तै भए
आरोप – संस्थागत भ्रष्टाचार ह्वात्तै बढ्यो
गुनासो – कानून बनाउने, तर कार्यान्वयनमा चासो नदिने ?

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पाँचौं (हिउँदे) अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तथा प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी (राजपा) सरकारप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको पा“चौ अधिवेशन सोमबारदेखि शुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा प्रतिपक्ष दलले आर्थिक भ्रष्टाचार, मन्त्रीहरुको व्यवहार, कानून कार्यान्वयनको अवस्था लगायतका विषयमा तिखो ढंगले चर्चा गरे ।
“प्रदेश सरकारका गलत क्रियाकलाप, मन्त्रीहरूको स्वेच्छाचारिता, निरन्तर बृद्धि भइरहेको संस्थागत भ्रष्टाचार, कानून कार्यान्वयनमा देखाइएको उदासिनता लगायतका कारणले प्रदेश सरकार तथा शासनमाथि नै जनतामा वितृष्णा बढ्दै गएको छ” संसद बैैठकमा मन्तव्य व्यक्त गर्दै प्रदेश सभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता रणबहादुर रावलले चेतावनी दिए– यी सबै गलत कार्य समयमै रोकिएन भने कतै हामी नै सुदूरपश्चिम प्रदेश सभाका पहिलो र अन्तिम सदस्य बन्ने खालको अवस्था सिर्जना नहोस् ।
नेता रावलले प्रदेश सरकारका केही मन्त्री “लगाम बिनाका घोडा जस्तै” बनेको टिप्पणी गरे । भने– हाम्रा मुख्यमन्त्री ज्यू बढि शालिन हुनु भएको हो कि ? केही मन्त्रीहरूले स्वेच्छाचारिता ढंगले काम गरिरहे पनि उहाँ (मुख्यमन्त्री) मुकदर्शक भएको देखिनु निश्चय पनि दुःखदायी हो ।
प्रमुख प्रतिपक्षी नेता रावलले प्रदेश सरकारमा पछिल्ला दिनमा भ्रष्टाचार ह्वात्तै बढेको सर्बत्र टिकाटिप्पणी भइरहेको बताए । उनले सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स तथ अल्ट्रासाउण्ड मेसिन खरिददेखि विभिन्न जिल्लामा आयोजित स्वास्थ्य शिविरमा व्यापक आर्थिक अनियमिता भएको व्यापक चर्चा भइरहेको बताए । उनले भने– सामाजिक विकास मन्त्रालय तथा अन्य मन्त्रालयमा आर्थिक भ्रष्टाचार बढेको प्रसंगमा तत्काल छानबिन गरेर दोषि व्यक्तिमाथि कारबाही गर्न आग्रह गरे ।
उनले बाजुराको बडीमालिका नगरपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरका लागि स्थानीय तहले खर्च बेहोरेको भए पनि सामाजिक विकास मन्त्रालयले समेत खर्च देखाएर आर्थिक अनियमितता गरेको आरोप लगाए ।
उनले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नक्कली किसान खडा गरी व्यापक आर्थिक अनियमितता गरेकोबारे पनि छानबिन गर्न माग गरे ।
प्रमुख प्रतिपक्ष नेता रावलले प्रदेश सरकारले प्रदेश सभालाई आफ्नो “महाशाखा” का रुपमा व्यवहार गरिएको अनुभव भइरहेको टिप्पणी गरे । भने– प्रदेश सभाले गरेका महत्वपूर्ण तथा गम्भीर निर्णय कार्यान्वयन गर्नेतर्फ सरकारले कुनै चासो नै दिएको देखिदैन ।
उनले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भएको हिमपात तथा वर्षाका कारण बालीनालीमा व्यापक क्षती भएको तथा हिमपातका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई दृष्टिगत गरी सरकारले तत्काल राहतका लागि कार्यक्रम ल्याउन माग गरे ।
प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सभा सदस्य मालामती रानाले प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरिन् । प्रदेश सभा सदस्य रानाले प्रदेश सभाले पारित गरेका अधिकांस विधेयकहरु अलपत्र परेको बताइन् । उनले सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा पहाडका जनतालाई ठग्न खोजेको आरोप लगाइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सभाले बनाएका ऐन कानुन कार्यान्वयन भए÷नभएको विषयमा अनुगमन गर्न आवश्यक रहेको बताए । उनले कानुन कार्यान्वयनको विषमा संसद् वा प्रदेश सरकार कसले गर्ने ? भन्ने विषयमा बहस गर्न आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले कार्यशैली पुरानै रहेको बताउ“दै जनतालाई अनुभुति हुने गरी प्रदेश सरकारले उपस्थिति देखाउन नसकेको बताए ।
प्रमुख सचेतक तामाङले जनताको पक्षमा र प्रदेशलाई समृद्ध बनाउने गरी प्रदेश सभा यो अधिवेशनले ऐन बनाउन सफल हुने विश्वास व्यक्त गरे ।
उनले प्रदेशको राजधानी राख्ने स्थान प्रदेश सभाले अघिल्लै वर्ष तोकिसकेको भए पनि अहिलेसम्म राजधानी राख्ने बारे कुनै ठोस पहल हुननसकेको टिप्पणी गरे । उनले भने– तोकिएकै स्थानमा राजधानी राख्न हामी सबै एकजुट भएर अघि बढौं ।
यसअघि प्रदेश सभाको पा“चौं अधिवेशनको पहिलो बैठक शुरु हुनासाथ सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सभा आव्हान गरेको पत्र पढेर सुनाएका थिए ।
पहिलो बैठक भएको हुनाले अधिवेशनको शुभकामना प्रदानका लागि सभामुख थापाले प्रदेश सभामा सहभागी तीन वटै दलका एक एक जनालाई शुभकामना मन्तव्य राख्न विशेष समय प्रदान गरेका थिए ।
प्रदेश सभाको अर्को बैंठक आज (मंगलबार) १२ः३० मा बस्ने गरी पहिलो बैठक अन्त्य भएको सभामुख थापाले घोषणा गरे । मंगलबार नै प्रदेश सभा स्थापना दिवस रहेकाले सुदूरपश्चिम प्रदेश सभा सचिवालयले भव्य रुपमा स्थापना दिवस मनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार