२७ पुष २०८१, शनिबार

प्रदेश सरकारको वित्तीय प्रगति दश प्रतिशत



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा कुल बजेटको दश प्रतिशत मात्रै खर्च भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म दुई अर्ब ८६ करोड ८२ लाख ७५ हजार बजेट खर्च गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २८ अर्व १६ करोड २० लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झपटबहादुर बोहराले गत आर्थिक वर्षको पहिलो छ महिनाको अवधिको तुलनामा चालू आर्थिक वर्षमा बजेट खर्च “२०६ प्रतिशत” बढि भएको दावी गरे । उनले भने– तर अहिलेको बजेट खर्चलाई सन्तोषजनक मान्न सकिदैन ।
गत आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा प्रदेश सरकारले कुल बजेटको चार दशमलव ९५ प्रतिशत खर्च गरेको थियो । मन्त्री बोहराले गत आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा कुल बजेट खर्च ४.९५ प्रतिशतभन्दा चालू आर्थिक वर्षको सोही अवधिमा १०.१८ प्रतिशत अर्थात् २०६ प्रतिशत बढि भएको बताए ।
मन्त्री बोहराले प्रदेश सरकारको कुल बजेटमध्ये पुँजिगत तर्फ एक अर्व ३४ करोड ५२ लाख ९३ हजार (१० दशमलव ३० प्रतिशत) र चालू खर्चतर्फ एक अर्ब ५२ करोड २९ लाख ८२ हजार (१० दशमलव नौ प्रतिशत) खर्च भएको बताए ।
उनले सुदूरपश्चिम प्रदेश सरकारका विकासका योजनाहरु कार्यान्वयनको चरणमा रहेको र भुक्तानी प्रक्रिया जारी रहेकोले वित्तीय खर्च प्रगति प्रतिशत कम देखिएको दाबी गरे । उनले भने– अहिले तथ्यांकमा बजेट खर्च कम देखिएको छ, तर भौतिक प्रगति भने ३० प्रतिशत भन्दा बढि भइसकेको छ । मन्त्री बोहराले आर्थिक वर्षको अन्त्यसम्म पूर्ण बजेट खर्च भइसक्ने दाबी गरे । उनले प्रदेशमा कर्मचारी कमीका कारण पनि बजेट खर्च प्रगति आशातित रुपमा प्राप्त हुन नसकेको बताए । उनले आवश्यकता अनुसार कर्मचारीको पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोग गठन गर्नुपर्ने बताए ।
सो अवसरमा मन्त्री बोहराले छ महिनाको अवधिमा प्रदेश सरकारले ४० करोड सात लाख ९३ हजार रुपैया राजश्व संकलन गरेको बताए । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८८ करोड ६४ लाख ७२ हजार रुपैया राजश्व संकलन लक्ष्य लिएको छ ।
कुन मन्त्रालयको कति बजेट खर्च ?
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्रदेश सभा सचिवालयले बजेट खर्च प्रगति गरेको देखिएको छ । प्रदेश सभा सचिवलायका लागि चालू आर्थिक वर्षमा १५ करोड ६७ लाख ३८ हजार रुपैया कुल बजेट रहेकोमा पाँच करोड ४२ लाख २७ हजार रुपैया (३४.६० प्रतिशत) खर्च गरेको जनाइएको छ ।
प्रदेश सभा सचिवालयका लागि चालू आर्थिक वर्षका लागि चालू खर्चतर्फ १३ करोड ८१ लाख ७८ हजार रुपैया विनियोजन गरिएकोमा अहिलेसम्म पाँच करोड पाँच लाख सात हजार रुपैया खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ एक करोड ८५ लाख ६० हजार रुपैया विनियोजन गरिएकोमा पहिलो छ महिनामा ३७ लाख २० हजार रुपैया (२० प्रतिशत) खर्च भएको छ ।
तथ्यांक अनुसार सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको बजेट खर्च भएकोे छ । चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक अर्व ११ करोड ५७ लाख ९३ हजार रुपैया बजेट विनियोजन गरिएकोमा पहिलो छ महिनाको अवधिमा तीन करोड ७९ लाख २२ हजार रुपैया (३.४० प्रतिशत) खर्च गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको लागि चालू आर्थिक वर्षमा चालू खर्चतर्फ १४ करोड १७ लाख २२ हजार रुपैया विनियोजन गरिएकोमा पहिलो छ महिनामा तीन करोड ५० लाख सात हजार रुपैया खर्च भएको छ । भने पुंजीगत तर्फ ९७ करोड ४० लाख ७१ हजार रुपैया विनियोजन गरिएकोमा अहिलेसम्म २९ लाख १५ हजार रुपैया खर्च भएको छ ।
त्यस्तै, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले ४७ करोड ७८ लाख ६३ हजार कुल बजेटमध्ये पहिलो छ महिनाको अवधिमा दुई करोड ५० लाख ८१ हजार रुपैया (५.२५ प्रतिशत) बजेट खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा चालु खर्चतर्फ दुई करोड ३६ लाख ७० हजार रुपैया र पु“जिगततर्फ १४ लाख ११ हजार रुपैया बजेट खर्च भएको जनाइएको छ ।
त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि विनियोजित कुल दुई अर्ब ३० करोड ८६ लाख तीन हजार रुपैया बजेटमध्ये पहिलो छ महिनाको अवधिमा २५ करोड ३३ लाख सात हजार रुपैया (१०.९७ प्रतिशत) खर्च गरेको छ । मन्त्रालयले चालुतर्फ २२ करोड २२ लाख २१ हजार र पुँजिगततर्फ तीन करोड १० लाख ८६ हजार खर्च गरेको छ ।
त्यस्तै, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालू आर्थिक वर्षको कुल २८ करोड ६२ लाख २२ हजार रुपैया बजेटमध्ये तीन करोड ८७ लाख ५७ हजार रुपैया खर्च गरेको छ । मन्त्रालयले चालुतर्फ दुई करोड ८३ लाख ७७ हजार र पुँजिगततर्फ एक करोड तीन लाख ८० हजार खर्च गरेको छ ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षको कुल दुई अर्व ८० करोड ५८ लाख २५ हजार रुपैयामध्ये २५ करोड ३३ लाख सात हजार रुपैया खर्च गरेको छ । मन्त्रालयले चालुतर्फ २० करोड ७६ लाख ७२ हजार र पुँजिगततर्फ दुई करोड २५ लाख ३० हजार बजेट खर्च गरेको छ ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले नौ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैया कुल बजेटमध्ये हालसम्म एक अर्व ३६ करोड ५१ लाख ७१ हजार रुपैया बजेट खर्च गरेको छ । मन्त्रालयले चालुतर्फ १३ करोड ६७ लाख १७ हजार रुपैया र पुँजिगततर्फ एक अर्व २२ करोड ८४ लाख ५४ हजार रुपैया खर्च गरेको छ ।
त्यस्तै, प्रदेशको सामाजिक विकास मन्त्रालयले कुल चार अर्व ७० करोड ३० लाख १७ हजार रुपैया बजेटमध्ये हालसम्म ६२ करोड २८ लाख ६४ हजार रुपैया बजेट खर्च गरेको छ । मन्त्रालयको चालुतर्फ ५७ करोड ८० लाख ६७ हजार र पुजिगततर्फ चार करोड ४७ लाख ९७ हजार बजेट खर्च भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार