१० श्रावण २०८१, बिहीबार

ठग्गुलाई रकम सहयोग, नगर प्रमुखले भने–छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्छौ



धनगढी । हेर्ने कथाको ४३ औं सृखला मंसिर १५ गते युटुवमा ‘बुबाको कथा’ शिर्षकमा भिडियो सार्वजनिक भयो । दुई लाख नौ हजार छ सय २४ जनाले हेरेको सो भिडियोमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा बस्दै आएका ठग्गु चौधरीको कथा रहेको छ । ठग्गुको श्रीमतीले डेढ वर्ष अघि अर्कैसंग विवाह गरेर गएपछि तीन वर्षिय छोरी राधिकालाई पालनपोषण गरिरहेका छन् ।
अहिले सो भिडियो हेरिसकेपछि देशभित्र र देशबाहिरका विभिन्न व्यक्ति तथा संघ÷संस्थाले सहयोग गर्ने प्रयास गरिरहेका छन् । यहि क्रममा बुधबार ठग्गुलाई सहयोग रकम हष्तान्तरण गरिएको छ । अमेरिकामा बस्दै आएका पत्रकार विष्णु पौडेलको नेतृत्वमा संकलन गरिएको रकम हष्तान्तरण गरिएको हो ।
पौडेलको नेतृत्वमा अमेरिकाबाट दुई लाख १९ हजार चार सय २९ सहयोग रकम पठाइएको थियो । थारु समुदायको महान पर्व माघि संक्रान्तिको अवसर पारेर पत्रकार दिर्घमार्फत धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सो रकम हष्तान्तरण गरेका थिए ।
यस्तै, ठग्गुलाई नगदसहित छोरीलाई कम्बल, विद्यालय झोला तथा स्टेशनरी पनि सहयोग गरिएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख वडले छोरीको निःशुल्क शिक्षाको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने –‘छोरीलाई एसओएस बालग्राममा राखि शिक्षाको व्यवस्थाका लागि उपमहानगरपालिकाले पहल गर्ने छ ।’
पत्रकार उपाध्यायले भने –‘हेर्ने कथामा बुबाको आर्थिक अवस्था नाजुक भएपछि पत्रकार विष्णुको नेतृत्वमा रकम संकलन गरि पठाइएको हो ।’ उनले छोरीको गास, बास, कपास र उचित शिक्षा तथा स्वास्थ्यमा सहयोग पुगोस भनेर रकम पठाइएको जानकारी दिए ।
सहयोग पाएपछि ठग्गुले खुशी व्यक्त गरे । उनी मनेहरामा घर भाडामा लिएर बसीरहेका छन् । कैलारी गाउँपालिका बस्दै आएका ठग्गु श्रीमतीले छोडेर गएपछि धनगढीमा भाडामा बस्दै आएका थिए । उनले जिविकोपार्जनका लागि अरुको विद्युतिय रिक्सा भाडामा लिएर चलाए पनि आधारभुत आवश्यकता पनि पुरा गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार