१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारले सहुलियत ऋण प्रवाह गर्ने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सहुलियतमा ऋण प्रवाह गर्ने भएको छ ।

‘प्रदेश सरकारले प्रदेश सभाबाट सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ पारित गरिसकेको छ र आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यसको नियमावली निर्माण गरिरहेको छ’ शनिबार घोडीघोडा लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले भने– यसले प्रदेशका विपन्न, उत्पीडन तथा लगनशिल व्यक्तिहरूलाई स्वरोजगार बनाउन सहुलियत ऋण प्रवाह गरिने व्यवस्था गर्दैछौं ।
मन्त्री बोहराले सरकारले वित्तीय संस्थालाई दुईदेखि तीन प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने जानकारी दिए । उनले भने– सरकारले उपलब्ध गराएको सो ऋण रकमबाट वित्तीय संस्थाहरूले बढिमा चार प्रतिशत ब्याजमा जनतालाई ऋण प्रवाह गर्नुपर्ने छ । मन्त्री बोहराले सरकारले वित्तीय संस्थाहरूलाई उपलब्ध गराउने सहुलियत दरको ऋण रकम उत्पादनशिल क्षेत्रमा मात्र लगानी गर्नुपर्ने अनिवार्य सर्त रहेको बताए ।
उनले यो कार्यक्रमले आर्थिक रुपमा विपन्न तथा सामाजिक रुपमा पिछडिएका वर्ग, समुदायलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन मद्दत पुग्नुका साथै लगनशिल व्यक्तिलाई स्वरोजगार गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘सरकारले थोक तथा खुद्रा व्यापार गरि दुई प्रकारमा ऋण उपलब्ध गराउने छ’ उनले भने– थोक व्यापारका लागि वित्तिय संस्थामार्फत ऋण प्रवाह हुने छ भने खुद्रा व्यापारका लागि सरकार आफैले कार्यालय स्थापना गरि ऋण प्रवाह गर्ने छ ।
मन्त्री बोहराले अहिले बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदरमा ऋण उपलब्ध गराइरहेको गुनासो गरे । उनले बैंक तथा वित्तीय संस्थालाई उत्पादनशिल क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गरे । ‘अहिले बैंक तथा वित्तीय संस्थाले बढिजसो अनुत्पादक क्षेत्रमा लगानी गरिरहेका छन् र ऋण प्रवाहमा दोहोरोपन भइरहेको छ” मन्त्री बोहराले भने– यसले राम्रो नतिजो दिएको छैन र प्रदेशबासीलाई आर्थिक रुपमा आत्मनिर्भर तथा स्वरोजगार बन्न पनि टेवा पु¥याउन सकेको छैन ।
उनले बैंक तथा वित्तीय संस्थाले ऐन, नियम, वित्तीय अनुशासन, संस्थाको आचारसंहिता पालना गरेर अघि बढनुपर्ने पनि सुझाव दिए । ‘अहिले कतिपय बैंक तथा वित्तीय संस्थाहरूले ऐन नियम तथा वित्तीय सुशासनको पालना नगर्दा डुब्नुपर्ने अवस्था आएको छ’ मन्त्री बोहराले भने– बैंक तथा वित्तीय संस्था सञ्चालन गरिसकेपछि सञ्चालक, व्यवस्थापक, शेयर सदस्य सबै इमान्दार भएर काम गरे नतिजामुखी प्रगति हासिल गर्न सकिन्छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले संस्था सञ्चालनका लागि प्रदेश सरकारले पनि विशेष अनुदानको कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
संस्थाका अध्यक्ष प्रभातकुमार चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । संस्थाका सञ्चालक पुरनप्रसाद चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रवन्धक नरेन्द्रप्रसाद लम्सालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार