६ जेष्ठ २०८१, आईतवार

डोजरले सडक खन्दा आँगनमै पहिरो



बैतडी । एक महिनाअघि मेलौली नगरपालिकाले स्थानीयवासीको घरमुनी डोजर लगाएर सडक खन्दा सामान्य वर्षा र हिमपातमै पहिरो गएको छ ।
डोजरले सडक खनेका कारण बैतडीको मेलौली नगरपालिका–६ मा बुधवार राती ११ः बजे स्थानीय हेमराज भट्टको घरको आँगनमै पहिरो जाँदा घर जोखिममा परेको हो ।
बुधवार राती राती ११ः बजे आँगनमै पहिरो गएपछि रातभरी जाग्राम बसेको पीडितले गुनासो गरेका छन् । पहिरोले घरको आँगन लगेको छ । घरसंँगै रहेको शौचालयमा चिरा परेका छन्, मकैको लुटो (चाङ) पहिरोमा जान लागेको पीडित हेमराज भट्टले बताए ।
हिउँदमा अन्नको जोहो गर्न राखेको मकैको चाङ नै पहिरोको जोखिममा परेपछि परिवारका सदस्यलाई हातमुख जोर्न राखेको मकैको पनि चिन्ता हुन थालेको भट्टले बताए ।
घरमुनी पहिरो गएपछि परिवारका सात जना त्रासमा बस्नु परेको भट्टले बताउनुभयो । यस्तो जाडो र हिमपातमा ओत लाग्ने ठाउँ नै पहिरोको जोखिममा परेपछि बालबच्चा लगेर कता जाऊँ भन्दै पीडित हेमराज भट्टले स्थानीय तहले विकासका नाममा विनास गर्न गरेको पीडा सुनाए । ।
घर पहिरोको जोखिममा परेको गुनासो लिएर विहीबार नगरपालिका गए पनि मेयरले वडा अध्यक्षसँग कुरा गर्नु भनेपछि घर फर्केर आएको पीडितले भट्टले बताए ।
पहिरोको विषयमा बुझ्दा मेलौली नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष परमानन्द भट्टले सडक खन्दा पहिरो जानु स्वभाविक भएको बताए ।
वडा अध्यक्ष भट्टले भने, “ १५ लाखमा सडक निर्माण भईरहेको छ । सडक खन्ने बेला त्यो सामान्य पहिरो हो । यस्तो पहिरोको बारेमा पनि के लेख्नु पर्यो ? धेरै नलेख्नु होला । सडक खन्दा घरमुनी लगाएको पर्खाल भत्किएको हो । अन्य क्षति केही भएको छैन । ”
यसअघि पनि नगरपालिकाकै डोजरले सडक खन्दा मेलौली नगरपालिका वडा–९, असुर स्थित शिव आधारभूत विद्यालय पहिरोको जोखिममा परेको शिक्षक अभिभावकले गुनासो गरेका छन् ।
‘विद्यालयमुनी डोजरले सडक नखन्नुस् भन्दा जनप्रतिनिधिले वेवास्ता गर्दा विद्यालयमा क्षति पुग्यो’ प्रधानाध्यापक ओझाले भने–‘ शौचालय भत्केर सडकमा पुगेको छ । भवन ढल्ने अवस्थामा पुगेको छ । खानेपानीका मुहान सुक्न थालेका छन् ।’
डोजरले जथाभावी सडक खन्दा विद्यालयमा क्षति पुगेको निवेदन लिएर वडा कार्यालय र नगरपालिकामा निवेदन दिए पनि कुनै सुनुवाई नभएको प्रधानाध्यापक ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार