२० बैशाख २०८१, बिहीबार

नेपाली मुद्रा नचल्ने स्वराडमा सडक र बिजुली पुग्यो



बैतडी । पाँच वर्ष अघि नेपाली मुद्रा समेत नचल्ने बैतडीको तल्लोस्वराड क्षेत्रमा अहिले सरर मोटर चल्न थालेका छन् । सरकारले दुई अर्ब रुपियाँ र बिजुलीका लागि २० करोड खर्च गरेपछि स्वराड क्षेत्रमा विकासको अनुभूति गर्न थालिएको छ ।
भारतमा निर्भर बैतडीको स्वराड क्षेत्रका तीन वटा स्थानीय तह सडक सञ्जालसित जोडिएपछि उपभोग्य वस्तु किन्न नेपाली टोपी लुकाएर भारत जानु पर्ने पीडा अन्त्य भएको छ । मैलौली नगरपालिकाले सुर्नयागाडबाट बिजुली उत्पादन गरेर बत्ती बालेको छ ।

महाकालीमा डुङ्गा तरेर भारतबाट दैनिक उपभोग्य वस्तु किन्दै आईरहेका स्वराडवासी गाउँमा सडक पुगेपछि नेपाली मुद्रा चिन्न थालेका छन् । सडक पुगेपछि नेपालबाटै उपभोग्य वस्तु ढुवानी हुन थालेपछि स्वराडवामा बल्ल नेपाली मुद्रामा कारोबार सुरु भएको हो ।
पाटन–पञ्चेश्वर सडक निर्माणसंगै कालोपत्रे हुन थालेपछि स्वाड क्षेत्रमा अहिले कैलाली र कञ्चनपुरबाट दैनिक सिधा बस सेवा संञ्चान हुन थालेका छन् । पाटन–पञ्चेश्वर सडकसँगै देहिमाडौं–गिरेगाडा सडक खण्ड कालोपत्रे सुरु भएपछि पञ्चेश्वरमा दुई ठाउँबाट एकैसाथ कालोपत्रे सडक पुग्दै छन् ।
पाटन–पञ्चेश्वर ६५ किलोमिटर सडक निर्माणसंगै कालोपत्रे गर्न नेपाल सरकारले एक वर्षमै डेढ अर्ब रुपियाँ खर्च गरेर सडक कालोपत्रे गर्न थालेको छ । त्यसै गरि बैतडी सदरमुकामबाट निकै छोटो पर्ने ४० किलो मिटर देहिमाडौं–गिरेगाडा सडक पहिलो १५ किलोमिटरमा कालोपत्रेको ठेक्का भएर काम सुरु भएको छ ।
एक नगरपालिका र दुई गाउँपालिका गरि तीन स्थानीय तहमा विद्युत पु¥याउन सरकारले २० करोड रुपियाँ बजेट बिनियोजित गरेपछि धमाधम बिजुलीका पोल गाडिन थालेका छन् ।
बैतडीको स्वराड क्षेत्रमा बिजुली पु¥याउन बैतडीको पाटन र मेलौलीमा २० करोड रुपियाँमा सबस्टेशन निर्माण भईरहेको विद्युत वितरण केन्द्र अत्तरियाका प्रमुख सतिश कर्णले जानकारी दिए ।
भारतपारि झिलिमिली बिजुली देखेका स्वराडवासीको घर आँगनमै नेपाल सरकारले धामाधम बिजुलीका पोल गाड्न थालेपछि स्वराडवासीको मुहार उज्यालो हुन थालेको छ ।
यो वर्ष ७५ करोड रुपियाँ खर्च गरेर पाटनदेखि मेलौली नगरपालिकासम्म ३३ किलोमिटर सडक धमाधम कालोपत्रे भईरहेको छ । ३३ मध्ये १३ किलोमिटरमा कालोपत्रेको काम सकिएको र बाँकी काम असारभित्रै सक्न दु्रत गतिमा काम चलिरहेको सडक कालो पत्रे गर्ने ठेक्का पाएको ग्वाल्लेक निर्माण सेवाले जानकारी दिएको छ ।
मेलौलीदेखि शिवनाथ गाउँपालिका हुँदै पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वरसम्म सडक निर्माण र कालोपत्रे गर्न ८२ करोड रुपियाँ थप बजेट आएपछि ठेक्का आह्वान गर्ने तयारी भईरहेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ ।
बैतडीको स्वराड क्षेत्रका स्थानीय बल्ल नेपालसित जोडिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमखु ईन्जिनियर जगतप्रसाद जोशीले बताए । ६५ किलो मिटर सडक दोब्बर चौडा गरेर साढे पाँच मिटर कालोपत्रे भईरहेको ईन्जिनियर जोशीले बताउनुभयो । सडक पुगेपछि परनिर्भरता हटेको जोशीले बताए ।
दुई वर्षको अवधिमा बैतडीको तल्लोस्वराड क्षेत्रमा स्थानीयले अपेक्षा गरे अनुसार विकास हुन थालेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । संघीय र प्रदेश सरकारले पाटन–पञ्चेश्वर सडक र बिजुलीको सपना पूरा गरेपछि गाउँपालिकाले प्रत्येक वडामा ग्रामीण सडक निर्माण सम्पन्न गरेको अध्यक्ष चन्दले बताए ।
३४ वर्ष अघि निर्माण सुरु भएको पाटन पञ्चेश्वर सडक बन्न लोकतन्त्र र स्थायी सरकार नै पर्खिनु परेको अध्यक्ष चन्दले बताए ।

अध्यक्ष चन्दले भने, ‘ स्वराडवासीले पटक पटक सडक र बिजुलीको माग गर्दै आए पनि सुनुवाई भएको थिएन । बल्ल स्वराडको कुरा सुन्ने सरकार आएको छ । अबको दुई वर्षमा छिमेकी भारतका गाउँभन्दा पञ्चेश्वर गाउँपालिकाका गाउँमा लोभलाग्दो विकास हुनेमा ढुक्क भएका छौं ।”
मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक वर्षअघिनै सडक पुगे पनि धुलो र हिलोका स्थानीय कारण कष्टकर यात्रा गर्दै गर्दै आईरहेका थिए । सडक पिच हुन थालेपछि अब हिलो र धुलोको पीडा अन्त्य हुन थालेको मेलैली नगरपालिकाका स्थानीय वीरेन्द्र चन्दले बताए ।
स्वराडमा अब एकमुष्ट विकासः सांसद भण्डारी
चार पटक प्रधानमन्त्री पाएको बैतडीले जनअपेक्षा अनुसार विकास नपाएकोले अब एकमुष्ट विकास हुने बैतडीबाट निर्वाचिच सङ्घीय सांसद् दामोदर भण्डारीले बताए ।
सांसद् भण्डारीले भने, ‘करिब एक लाख नागरिकको बसोबास रहेको बैतडीको तल्लो स्वराड क्षेत्रमा किस्ताबन्दी र खुद्रा विकास होईन, अब एक मुष्ट विकास दिने गरि वामपन्थी सरकारका पालामा स्वराडको कायापलट गर्छौ । ’
जिल्लाका सबै स्थानीय तहमाका सबै गाउँमा भ्रमण गरेर जनताको माग अनुसार सबै क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गर्ने गरि पहल भईरहेको भण्डारीले बताए ।
बैतडीमा दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलासैनी गाउँपालिका गरि १० स्थानीय तह रहेका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार