१० श्रावण २०८१, बिहीबार

डेढ दशकसम्म पनि फेरिएन एकतावस्ती



लम्की/ कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ लम्की बजारको पूर्वमा रहेको एकता शिविर । त्यो शिविर एक सय १६ परिवार मुक्त कमैयाहरूको वस्ती हो ।
२०६२ मा सात वटा राजनीतिक दलहरुको प्रयासमा एकता शिविर स्थापित गरिएको थियो । तर, यो वस्तीको अवस्थामा कुनै परिवर्तन आउन सकेको देखिदैन ।
एकता शिविरका बासिन्दा हरेक राजनीतिक दलले निर्वाचनताका भोटका लागि अनेकौ प्रतिवद्धता गरे पनि निर्वाचनपछि कसैले पनि चासो नराख्ने गुनासो गर्छन् ।
एकता शिविरकी रतरानी चौधरी भन्छिन्– चुनावको समयमा रातदिन नेताहरू आएर सबै समस्या हल गर्ने भन्दै भोट माग्छन्, तर जितिसकेपछि आफुले बोलेको सबै कुरा भुल्ने गरेका छन् ।
एकता शिविरमा विद्युतका पोल गाडिएका छन्, तर विद्युत कहिले आउने भन्ने टुंगो छैन । अहिलेसम्म अध्यारोमै दिन विताएका ८६ वर्षीय रामदिन चौधरी भन्छन्– आधा जीवन कमैया भएर बित्यो । सरकारले मुक्त गरेपछि पनि आफ्नै घरमा बस्ने रहर पुरा हुन्छ भन्ने आशा छैन, तर घरमा वत्ती नै नबाली जीवन सकिने भयो ।
एकता शिविरमा बसोबास गर्नेहरू प्रायः मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । केहीले घरमा सोलार बत्ति जोडेका छन् । डेढ सयको हाराहारीमा विद्यालय पढ्ने विद्यार्थी छन् । “हामीले जीवनमा अक्षर सिक्ने मौका पाएनौं, सन्तानले पढ्न सकुन् भन्ने चाहना छ” रतरानी भन्छिन् ।
वस्तीमा रहेको नमुना अध्ययन गृहमा सोलार बत्ती जडान गरिएकोले राती प्रायः बालबालिकाले त्यहि गएर गृहकार्य गर्ने गरेका छन् ।

एकता शिविरका बासिन्दाका अनुसार प्रदेश सभा सदस्य रतनबहादुर थापाले नमुना अध्ययन गृहका लागि नगरपालिबाट बजेट विनियोजन गर्न लगाएको भनेर सार्वनजनिक रुपमा जानकारी दिए पनि अहिलेसम्म नगरपालिका वा निर्वाचन क्षेत्र विकास कोषबाट बजेट आएको छैन । त्यस्तै नगर प्रमुख महादेव बजगाईले गत दशैं÷तिहारसम्म विद्युत सेवा पुराउने घोषणा गरेको भए पनि अहिलेसम्म काम भएको छैन ।
एकता शिविर समेत रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा आर्थिक वर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा संघिय, प्रदेश र स्थानीय सरकारबाट करोडौं रकम लगानी भए पनि एकता शिविरमा अहिलेसम्म सात वटा ह्युमपाइप मात्र बिछ्याईका छन् ।

त्यस्तै, एकता शिविरमा खानेपानीको पर्याप्त व्यवस्था छैन । वस्तीमा खानेपानी पाईप लाईन पुगे पनि सबै घरमा धारा जोडिएका छैनन् । आधा जति परिवारले लम्की बहुमुखी क्याम्पसको धाराको पानी प्रयोग गरिरहेका छन् ।
लम्कीचुहा नगरपालिकाले २०७४ साल पुस १ गते खुला दिसामुक्त नगर घोषण ग¥यो । खुला दिसामुक्त क्षेत्र घोषणाका लागि नगरपालिकाले विपन्न परिवारलाई सौचालय बनाउन ट्वाईलेट सिट र रिङ उपलब्ध गरायो । तर एकता शिविरका कुनै पनि परिवारले नगरपालिकाबाट कुनै सहयोग पाएनन् । अहिले पनि एकता शिविरका धेरैजसो जंगलमा शौच गर्न बाध्य छन् ।
एकता शिविरमा माध्यामिक तहका विद्यार्थीको संख्या डेढ सय जति रहेको नमुना अध्ययन गृहकी शिक्षिका सुदामा चौधरी बताउछिन् । त्यस्तै ११ कक्षामा अध्ययन गर्ने दुई जना छात्रा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार