२३ बैशाख २०८१, आईतवार

छाउगोठ भत्काउने अभियान सुरु



धनगढी/सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुनः छाउगोठ भत्काउने अभियान शुरु भएको छ ।
मंगलबार कैलाली जिल्ला प्रहरी कार्यालयले गोदावरी नगरपालिकाका केही छाउगोठ भत्काएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नम्बर १२ कोल्मुडा, कटान लगायतका क्षेत्रहरूमा छाउगोठ भत्काइएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाशसिंह कार्कीले ती क्षेत्रका घरमा निर्माण गरिएका ४७ वटा छाउपडी गोठहरू स्थानिय जनप्रतिनिधि लगायत प्रहरीको सक्रियतामा भत्काइएको जानकारी दिए ।
उनले छाउ गोठ भत्काई छाउपडी मुक्त क्षेत्र बनाउने अभियान संचालन गरिएको बताए । उनले गोदावरी क्षेत्रसहित अन्य स्थानहरूमा समेत छाउपडी गोठहरू पहिचान गरी भत्काउने जानकारी दिए ।
उनले गोठ भत्काउ अभियानसंगै जनचेतनामुलक कार्यक्रम पनि संचालन गरिएको बताए । छाउपडी गोठ भत्काउनमा ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्ट, वडाध्यक्ष भिम बहादुर खड्का, महिला वडा सदस्य राधिका जोशी, सरस्वती माध्यामिक बिद्यालयका छात्र छात्राहरू, परिवर्तन राष्ट्रका लागी युवा क्लव र समाजसेवी बसन्ती बि.क. लगायत स्थानियहरूको सहभागिता रहेको थियो ।
यसैगरी बाजुरामा देवताका धामीबाटै छाउप्रथा हटाउने प्रतिवद्धता व्यक्त भएको छ ।
बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ रजातोलीका धामीझाक्रीहरूले छाउपडी नमान्ने प्रतिबद्धता गरे ।
छाउगोठ हटाउन डडेल्धुरा र डोटीमा उर्दी
डडेल्धुरा र डोटीमा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयहरूले उर्दी जारी गरेका छन् । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालयले उर्दी जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र डोटीले सार्वजनिक सूचना प्रकाशित गरी जिल्लाका कुनै पनि स्थानमा छाउगोठ नराख्न भनेका छन् । जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइएको कार्यालयले जनाएका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासनले छाउगोठ भत्काउन सबै स्थानीयतहलाई पत्राचारसमेत गरेका छन् । गृह मन्त्रालयले डडेल्धुरा र डोटीलगायत सुदूरपश्चिमका विभिन्न ठाउ“मा रहेका छाउगोठलाई भत्काउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि जिल्ला प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने भएका हुन् ।
मुलुकी अपराधसंहिता, २०७४ ले परिभाषित गरेको सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धको कानूनी व्यवस्था सम्बन्धमा चेतनामूलक अभियान सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहहरूलाई आफनो स्थानीय तहमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइदिन प्रशासनले आग्रह गरेको छ ।
छाउपडी प्रथालाई प्रसय दिने गरी कुनै पनि गतिविधि भएको पाइएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम कारबाही गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिइसकिएको भन्दै त्यस प्रकारका गतिविधिहरू नगर्न÷नगराउन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार