१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम महोत्सव सकियो, पाँच लाख दर्शकले गरे अवलोकन



धनगढी/ धनगढीमा मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव, २०७६ आइतबारबाट सकिएको छ । महोत्सव अवधिभर पाँच लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजक कैलाली उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सवमा राखिएका तीन सय स्टलहरूबाट महोत्सव अवधिभर १२ करोड रुपैया बढिको कारोबार भएको प्रारम्भिक अनुमान रहेको संघका सचिव सिद्धराज पनेरुले बताए । उनले महोत्सव अवलोकनका लागि टिकट बिक्रीबाट ८० लाख रुपैया संकलन भएको बताए ।
महोत्सवको आईतबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले समापन गरे ।
यस पटक महोत्सव १५ दिन चलेको थियो । एक दिन वर्षाले महोत्सव प्रभावित पारेपछि र दर्शकहरूको अत्यधिक चापका कारण महोत्सव अवधि चार दिन बढी थपिएको थियो ।
महोत्सव समापनका क्रममा नगर प्रमुख वडले सुदूरपश्चिम महोत्सवले प्रदेशको आर्थिक विकास तथा पर्यटन प्रवद्र्धनमा टेवा पुराएको बताए । उनले छिट्टै धनगढीमा बृहत प्रदर्शनीस्थल निर्माणका लागि पहल गरिने बताए ।
‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार