२८ पुष २०८१, आईतवार

अनुदानको लागि मात्रै खुलेका सहकारी संस्था मर्ज गर्छौ– कृषि मन्त्री



धनगढी/ सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सरकारी अनुदानको मात्रै उद्देश्य बनाएर खुलेका सहकारी संस्थाहरूलाई एकआपसमा गाभ्ने (मर्ज) गर्ने बताएकी छिन् । शुक्रबार धनगढीमा प्रदेशमा सहकारी विकास सम्भावना तथा चुनौति विषयक कार्यक्रममा कृषि मन्त्री चौधरीले सहकारी संस्थाहरूलाई व्यवस्थित गर्नेबारे मन्त्रालय गम्भीर रहेको बताइन् ।
उनले भनिन्– पछिल्लो समय प्रदेशका प्रायः सबै जिल्लाहरूमा अनुदानका लागि मात्रै सहकारी संस्था खोल्ने परम्परा बढेको छ, त्यसैले यसको नियन्त्रण र नियमन गर्ने वेला भइसकेको छ । उनले सबै सहकारी संस्थाहरूको तथ्यांक संकलन गर्दै निस्कृय सहकारी संस्थाहरूलाई मर्ज गर्ने र राम्रो काम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने नीति बनाइने बताइन ।
कार्यक्रममा प्रदेश सांसद तारा लामा तामाङले बचत र ऋणका लागि मात्रै खोलिएका सहकारी संस्थाहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले भने– अब सहकारी संस्थाहरूले उद्यमी तथा उत्पादनमुखी बन्नुको विकल्प छैन ।
प्रदेश सभा सदस्य कुन्ति जोशीले सहकारी संस्थामा सम्भावना खोज्नु जरुरी रहेको बताइन । उनले सहकारी अनुदानको लागि मात्रै नभएर व्यवसाय बनाउनु पर्ने चुनौति रहेको बताइन । सांसद जोशीले झोले सहकारी संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताइन् ।
त्यस्तै, प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले सहकारी संस्थाहरूले उद्योग र बजारीकरणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी भूपेन्द्र सिंहले प्रदेशको कृषिको तथ्यांकमा एकरुपता नभएको र सहकारी संस्थाहरूबाट उत्पादित कृषि उत्पादनले उचित बजार पाउन नसकेको गुनासो गरे । उनले सरकारले कृषि उत्पादनमा राजश्व छुट गरेको भए पनि दूग्धजन्य उत्पादनमा मूल्य अभिबृद्धि कर लगाउने गरेकोमा आपत्ति जनाए ।
सहभागीहरूले सहकारी संस्थाभित्र आर्थिक क्रियाकलापहरूलाई पारदर्शी बनाउनुपर्ने, प्रदेश सरकारले सहकारी संस्थाहरूको अस्तित्व नै ओझेलमा पारेको, सहकारी संस्थाहरूलाई सरकारले विभेद गरेको, अनुदान वितरणमा कमजोरी रहेको आदि गुनासो गरेका थिए ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव गोकुल प्रसादबोहराले मन्त्रालयको सहकारी सम्बन्धि नीति तथा कार्यक्रम सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै रुपा जोशीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । प्रदेश कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा भएको कार्यक्रम सञ्चालन दिपक थापामगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार