१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम वित्तीय सम्मेलन : पाँच वर्षभित्र ८० प्रतिशत जनतालाई बैंकिङ पहुँच



धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले आगामी पाँच वर्षभित्र ८० प्रतिशत प्रदेशवासीलाई वैंकिङ पहुँचको दायरामा समेट्ने घोषणा गरेको छ ।


८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशको ८२ वटा स्थानीय तहमा बैंकिङ पहुँच रहेको नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले जनाएको छ । प्रदेशको बझाङ जिल्लाका दुई स्थानीय तह र बाजुरा जिल्लाका तीन स्थानीय तहमा भने अझै बैंकिङ पहुँच पुग्न सकेको छैन ।
सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार धनगढीमा आयोजना गरेको वित्तीय सम्मेलन २०७६ मा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशको सात सय ३४ वडामै बैंकिङ पहुँच पुर्याउने सरकारको योजना रहेको बताए ।
सम्मेलनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र स्थानीय तहको सहकार्यमा ८० प्रतिशत प्रदेशवासीलाई बैंकिङ पहुँचको दायरामा ल्याउने घोषणासहित सात बुँदे घोषणापत्र जारी गरेको छ ।


प्रदेश सरकारले जारी गरेको घोषणापत्रमा प्रदेशमा वित्तीय पहुँच अभिवृद्धि गर्न मन्त्रालयमा हेल्प डेस्क स्थापना गर्ने उल्लेख छ ।
त्यस्तै, वित्तीय साक्षरता कार्यक्रम प्रवद्र्धन गर्न प्रदेश सरकारले स्थानीय सरकारहरूलाई विद्यालय, कलेजको पाठयक्रम विकास गर्न सहजीकरण गर्ने, नेपालको सिमानामा विदेशी मुद्राको प्रचलन विस्थापित गर्न र विदेशी विमा कम्पनीहरूको विमालेखा विस्थापित गर्न सरोकारवालाहरूसंग सहकार्य एंव समन्वय प्रदेश सरकारले गर्ने जनाइएको छ ।
यस्तै आगामी पाँच वर्षमा ५० प्रतिशत प्रदेशवासीलाई विमाको पहुँचको दायरामा आवद्ध गर्न प्रदेश सरकारले समन्वय गर्ने उल्लेख छ ।
मन्त्री बोहराले प्रदेशभर विमाको पहुँच पुर्याउन प्रदेश सरकार र नेपाल विमक संघ तथा जीवन विमक संघसंग आठ बुँदे र राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक तथा नेपाल लघु वित्त वैंकर्स संघसंग प्रदेश सरकारले प्रदेशभर वित्तीय पहुँच पुर्याउन १० बुँदे सहमतिपत्रमा हष्ताक्षर गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार