१२ श्रावण २०८१, शनिबार

संसदमा नउठेका सवाल गाउँबाट



तेज बोहरा/लम्की । २०७६ मंसिर १७ गते मंगलबार । कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसको प्रांगण । ठूलो संख्यामा उपस्थित क्याम्पसका विद्यार्थी, शिक्षक, राजनीतिकर्मी, सञ्चारकर्मी तथा स्थानीयमाझ सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुजबहादुर थापा । यो जनतासंग सभामुख कार्यक्रम थियो । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना भएको कार्यक्रममा सहभागीहरूले प्र्रदेश सभा र यसका कामकारबाही, सभामुखको भूमिका र दायित्व, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका कानून निर्माणमा भइरहेको ढिलाई, एक वर्षअघि घोषणा भएको राजधानी निर्माण भइरहेको विलम्ब, छाउपडी प्रथाको समाप्तीका लागि आवश्यक कानुनदेखि कालापानी, लिम्पियाधुरा लगायतका जिज्ञासा प्रस्तुत गरे ।
प्रदेश सभा आम नागरिकका जनजिविका देखि हरेक चासो र सरोकारका सवालहरूमा छलफल हुने तथा सरकारलाई अवगत गराउने प्रदेशको सर्वोच्च थलो मानिन्छ । जनताका प्रतिनिधिहरूले संसदमार्फत जनताका हरेक सवालमा सरकारको ध्यानर्कषण गराउने संस्था हो । मंगलबार लम्कीमा विद्यार्थी सहितका सहभागीहरूले प्रत्यक्ष रुपमा आफ्ना चासो र सरोकार सभामुख समक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गरे ।
सभामुख थापाले प्रदेश सभा गठन भएदेखि हालसम्म संसदले गरेका कार्यबारे जानकारी गराउदै हालसम्म ३२ वटा विधेयक निर्माण भइसकेको जानकारी दिए । उनले प्रदेश सभाको संरचना र कानून निर्माण प्रक्रियाबारे जानकारी गराएका थिए ।
यो युएनडीपीको संसद सहयोग परियोजनाको सहयोगमा प्रदेश सभाद्वारा आयोजित कार्यक्रम थियो ।
कार्यक्रममा सहभागी सीता घर्तिमगरले सोधिन्– सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन बढ्दै गईरहेका सवारी दुर्घटना न्युनिकरणको लागि प्रदेश सभाले के गर्दैछ । लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशीको जिज्ञासा थियो– सुदूरपश्चिम प्रदेशमा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा प्रदेश सभाको धारणा के हो ?
अर्का सहभागीले स्थानीय तहका लागि आवश्यक कानुन बनाउन प्रदेश सभाले किन ढिाई गरिरहेको ? प्रश्न गरे । सहभागि भूमिका उपाध्यायको प्रश्न थियो– अहिले पनि शिक्षामा किन लैंगिक समानता हुन सकेको छैन ?
सहभागी कृष्ण उपाध्यायले भाषा कला साहित्यका क्षेत्रमा प्रदेश सभाले कस्तो नीति, एने बनाउदैछ भन्ने जिज्ञासा राखे भने दिर्घा रावतले शिक्षा सम्बन्धी प्रदेश सभाले ऐन बनाउन किन ढिलाई भइरहेकोबारे प्रश्न गरे ।
पत्रकार देवानन्द न्यौपानेले सुदूरपश्चिम प्रदेश सभाले हालसम्म किन मिडिया कानून बनाउन नसकेको भन्दै प्रश्न गरे ।
सहभागी रमित पाण्डेले प्रदेश सभाले प्रदेशको राजधानी घोषणा गरेको एक वर्ष भइसक्दा पनि अहिलेसम्म किन कार्यान्वन नभएको भन्ने जिज्ञासा राखे ।
सहभागीहरूले उठाएका समस्या तथा सवालमा सभामुख थापाले जनतासंग सभामुख कार्यक्रमले जनताका सवालबारे प्रदेश सरकारको ध्यानार्कषण गराउने प्रतिवद्धता व्यक्त गरे ।
सभामुख थापाले मिडिया विधेयक निर्माण बारे सरकारको ध्यानाकर्षण गराउने बताए । उनले राजधानी निर्माणबारे सम्भाव्यता अध्ययनका लागि छिट्टै काम अघि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य रतनबहादुर थापाले प्रदेश सरकार निरन्तर जनताका आकांक्षा तथा चाहना पुरा गर्नेतर्फउन्मुख भएको चर्चा गरे ।
लम्कीचुहा नगरपालिका उपप्रमुख टीका देवी थापाले सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेको छाउपडी प्रथा अन्त्यको लागि आफू निरन्तर क्रियासिल रहेको बताइन् ।
कार्यक्रमको समिक्षा गर्दै बरिष्ट पत्रकार चित्राङ्ग थापाले कार्यक्रमले जनताका चासो र सरोकारबारे प्रदेश सभालाई जोड्ने अवसर सिर्जना गरेको चर्चा गरे ।
कार्यक्रममा संसद सहयोग परियोजनाका संसद मामिला अधिकृत पार्वती कुमारी भण्डारीले प्रदेश सभा र जनताबीच संवादको संस्कृति बृद्धि गर्न जनतासंग सभामुख कार्यक्रम आयोजना गरिएको बताइन् । उनले यस्ता कार्यक्रमले प्रदेश सभाले गरेका कामकारबाहीबारे जनतालाई जानकारी गराउने तथा प्रदेश सभालाई जनताका आम चासो र सरोकारका विषयमा अवगत हुने अवसर सिर्जना हुने अपेक्षा गरिएको बताइन् ।
कार्यक्रमको सहजीकरण पत्रकार मनमोहन स्वारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार