भिजिट नेपाल २०२०ः सुदूरपश्चिम प्रदेश समिति जुट्यो तयारीमा
धनगढी । सुदूरपश्चिम प्रदेश पर्यटन प्रवद्र्धन समिति भिजिट नेपाल २०२० का लागि तयारीमा जुटेको छ । भिजिट नेपाल २०२० को पहिलो दिनमा भव्य कार्यक्रम आयोजना गर्न सुदूरपश्चिम प्रदेश पर्यटन प्रवद्र्धन समितिले उपसमिति गठन गरेको छ ।
प्रदेश पर्यटन प्रवद्र्धन समितिको शुक्रबार बसेको बैठकले भिजिट नेपाललाई उत्सवका रुपमा मनाउन समन्वय, प्रचारप्रसार र धार्मिक सांस्कृतिक उपसमिति गठन गरेको जनाइएको छ ।
बैठकले परमानन्द भट्टको संयोजकत्वमा आठ सदस्यीय समन्वय उपसमिति गठन गरेको छ । त्यस्तै, किशोर खड्काको संयोजकत्वमा चार सदस्यीय प्रचारप्रसार तथा रमेश कुँवरको संयोजकत्वमा धार्मिक सांस्कृतिक उपसमिति गठन गरेको छ ।
समन्वय उपसमितिले नेपाल भ्रमण वर्ष, २०२० को पहिलो दिन कसरी मनाउने लगायतका बारेमा योजना बनाउने जनाइएको छ ।
बैठकले प्रचारप्रसार उपसमितिले प्रदेशको पर्यटन लोगो छनोट गर्ने, होर्डिङ बोर्ड, पोष्टर, स्टीकर, डिजिटल डिस्प्ले, वेवपेज, मायाको चिनो, ब्याच आदि प्रचार प्रसार सामग्री डिजाइन तथा प्रकाशन, मिडिया परिचालन र स्लोगन तथा जिंगल वा नारा तयार गर्ने जनाएको छ ।
त्यस्तै, धार्मिक सांस्कृतिक उपसमितिले प्रदेशको सम्पदा र संस्कृति झल्कने गीत, संगीत भिडियो निर्माणका लागि आह्वान तथा छनौट गर्ने जनाइएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास शाखा प्रमुख भोजराज पाठकले यी तीन उपसमिति भिजिट नेपाल २०२० को भव्य रुपमा शुभारम्भ गराउनका लागि गठन गरिएको बताए ।
प्रदेश सचिवालय गठन नगरिने
प्रदेश पर्यटन प्रवद्र्धन समितिको बैठकले प्रदेश स्तरिय भिजिट नेपाल २०२० को सचिवालय गठन नगर्ने जनाएको छ ।
केन्द्रको भिजिट नेपाल २०२० ले सचिवालय गठन गर्नुको साथै आफ्नै पोर्टल स्थापना गरि पर्यटकीय स्थलको प्रचारप्रसार तिव्र बनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहात रहेको पर्यटन विकास शाखालाई सचिवालय र आवश्यकता अनुसार उपसमिति गठन गरि भ्रमण वर्ष २०२० लाई अघि बढाइने जनाइएको छ ।
त्यस्तै, मन्त्रालयले तोकेको कर्मचारीले सचिवालय वा फोकल पर्सनको काम गर्ने निर्णय गरिएको छ । फोकल पर्सनले गठीत विभिन्न उपसिमितहरू संग समन्वय गर्ने जनाइएको छ ।
रवि वड पर्यटन दूत
सुदूरपश्चिम प्रदेश पर्यटन प्रवद्र्धन समितिले नेपाल आइडल सिजन २ का विजेता रवि वडलाई पर्यटन दुतका रुपमा अनुमोदन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वडलाई पर्यटन दूतमा नियुक्त गरेको थियो । शुक्रबार बसेको समितिको बैठकले सो निर्णयलाई अनुमोदन गरेको हो । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजिना भएको सप्तरंग २ कार्यक्रममा वडलाइ प्रदेशको पर्यटन दूतका रूपमा नियुक्त गरेको घोषणा गरि प्रमाणपत्र प्रदान गरिएको थियो । भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आईडियल वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दुतमा नियुक्त गरिएको थियो ।





