१० श्रावण २०८१, बिहीबार

मोहनापारीका नेपाली वस्ती : नागरिकले राज्यको अनुभूति नै गर्दैनन्



तेज बोहरा/कैलारी । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका नेपाली भूभाग आफ्नो सिमानाभित्र राखेकोमा केही दिनयता मुलुकका विभिन्न भागमा व्यापक विरोध भइरहेकोे छ । भारतले लामो समयदेखि नेपालका विभिन्न भागमा अतिक्रमण गरेका बारे समाचार सम्प्रेषण भइरहेका छन् । सरकारले प्रभावकारी ढंगले सिमा रक्षा गर्न नसकेको टिप्पणी भइरहेका छन् । तर, कतिपय सिमावर्ती नेपाली गाउँवस्तीका नागरिकले आफ्नो राज्यको अनुभूति नै गर्न सकिरहेका छैनन् । कैलालीको कैलारी गाउँपालिकामा पर्ने मोहना नदीपारीका नेपाली गाउँवस्तीका नागरिकले यस्तै यस्तै अनुभव गरिरहेका छन् ।


कैलारी गाउँपालिकामा पर्ने मोहनपुर, हौसलपुर र शिवरत्नपुर मोहना नदीपारी रहेका छन् । तीनै गाउँमा जानका लागि मोहना नदीमा अझैंसम्म पुल बनेको छैन । तीनै गाउँका बासिन्दाका लागि नदी पार गर्ने एउटै माध्यम डुंगा मात्रै हो । “सधैं ज्यान जोखिममा राखेर मोहना नदी पार गर्ने गरेका छौं” स्थानय भन्छन् ।
मोहनपुर, हौसलपुर र शिवरत्नपुरका बासिन्दाका लागि मोहना नदीमा पुलको अभाव मात्रै समस्या होइन, उनीहरूले विद्यालय, खानेपानी, विद्युत, सडक लगायतका आधारभूत आवश्यकता पनि पाउन सकेका छैनन् । मोहना नदीमा पुल नभएकाले मोहनपुर र हौसलपुर गाउँका बालबालिकाहरू नजिकका भारतीय विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् ।
सुन्दर शान्त नेपाल परियोजनाद्वारा बुधबार कैलारी गाउँपालिकाको हसुलियामा आयोजित “गाउँपालिकास्तरीय अन्तर विषयक सिकाई आदानप्रदान तथा स्थलगत छलफल” कार्यक्रममा सहभागी हौसलपुरबासीले स्थानीय जनप्रतिनिधीहरूमाझ आफ्ना पीडा प्रस्तुत गरे ।
सहभागी आशा चौधरीले गाउँमा स्वास्थ्य स्वयंसेविका नहुँदा घण्टौ पैदल यात्रा गरेर खोप लगाउन जानुपर्ने बाध्यता रहेको बताइन् । उनले गाउँमा विद्यालय समेत नभएको बताइन् । भनिन्– हाम्रो गाउँमा विद्यालय छैन । हामी नेपाली भएर पनि राम्ररी नेपाली बोल्न जान्दैनौ । सरकारले गाउँमा प्रौढ कक्षा सञ्चालन गरिदिए हामीलाई नेपाली भाषा बुझ्न र बोल्न सहज हुन्थ्यो ।
अर्का सहभागी राजकुमार चौधरीले आफुहरूसंग जग्गाको लालपुर्जा समेत नरहेको बताए । उनले भने– हामी वर्षौदेखि ऐलानीपर्ती जग्गामा बसोबास गरिरहेका छौं । हामीसंग जग्गाको लालपुर्जा नभएका कारण भारतीयाले हामीलाई पटकपटक दुःख दिने गरेका छन् ।
प्रतिभा चौधरीले गाउँमा शुद्ध खानेपानीको धारा समेत नभएको गुनासो गरिन् । भनिन्– हामीले नदीको दूषित पानी प्रयोग गरिरहेका छौं । हाम्रो गाउँमा न त विद्युत सेवा छ, न सडक नै ।


कार्यक्रममा कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले सिमा क्षेत्रका नागरिकले राज्यको अनभुति नै गर्न नसकेको बताए । वडाध्यक्ष कमलप्रसादले भने– अझैंसम्म पनि राज्यको दृष्टि मोहना नदीपारीका यी गाउ“हरूमा परेकै छैन । हाम्रो सरकारको वेवास्ताका कारण भारतीय पक्षले निरन्तर हाम्रो भूभाग अतिक्रमण गरिरहेको छ ।
उनले गाउ“पालिकाले गाउँका समस्या समाधानका लागि प्रयास गरिरहेको बताए । उनले तीन गाउ“मा आधारभुत आवश्यकता पु¥याउन गाउ“पालिकाले केही योजना सञ्चालन गरेको बताए ।
कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले मोहना नदी पारीका गाउँहरूमा आउँदा आफुलाई भारतमा आएजस्तो महसुस हुने गरेको बताए । अध्यक्ष लाजुरामले भने– यी गाउँका नागरिकले नेपाली भएर नेपाली बोल्न नआउनु साच्चै नै दुःखदायी हो । उनले गाउँपालिकाले हौसलपुर गाउँका लागि विशेष योजना बनाएको बताए ।
अध्यक्ष चौधरीले कैलारी गाउँपालिकाले गाउँमा स्वास्थ्य सेवा, प्राथमिक विद्यालय, खानेपानी, विद्युत लगायतका योजनामा छ लाख रुपैया बजेट विनियोजन गरेको बताए । उनले ऐलानीपर्ती जमिनबारे स्थानीय तहलाई आधिकार नभएकोले समस्या समाधनका लागि संघीय सरकारसंग पहल गरिरहेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरभान चौधरीले जग्गाको लालपुर्जाको अधिकार केन्द्र सरकारको रहेकोले नयाँ कानुन नबनेसम्म प्रदेश सरकारले केही गर्न नसक्ने बताए ।
प्रदेश सभा सदस्य चौधरीले प्रदेश सरकारको सहयोगमा खोनपुर घाटमा झोलुङ्गे पुल निर्माणका लागि डीपीआर बनिसकेको बताए ।
कार्यक्रममा सुन्दर शान्त नेपाल परियोजना संयोजक शोभाराम चौधरीले कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार