२० बैशाख २०८१, बिहीबार

गाईगोरु व्यवस्थापन गर्न विशेष योजना ल्याउछौ : मुख्यमन्त्री (फाेटाे फिचर र भिडियाे)



लम्की । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोलन भट्टले छाडा गाइगोरु व्यवस्थापनका लागि विशेष योजना ल्याउने बताएका छन् ।

लम्कीचुहा नगरपालिकाले निर्माण गर्न थालेको बलचौर गौशालाको शनिवार शिलन्यास गर्दै मुख्यमन्त्री भट्टले नगरपालिकाले बनाउन थालेको गौशाला निर्माणमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । उनले भने, प्रदेशभर गाईगोरु व्यवस्थापन गर्न गौशाला बनाउने योजना अन्र्तगत लम्कीबाट त्यसको शुरुवात भएको छ ।

संघीय संसदका सांसद झपट रावलले पनि संघीय सरकारबाट समेत गाई व्यवस्थापनका लागि सहयोग जुटाउने बताए । गाईगोरु व्यवस्थापनले सडक दुर्घटनामा कमी आउने उहाँले बताए ।

नगरपालिकाले करिव २५ हेक्टर क्षेत्रफलमा यो गौशाला बनाउन थालेको होे । अहिले यो गौशालामा करिव चार सय गाइगोरु रहेका छन । झण्डै ५० लाखमा निर्माण हुन थालेको गौशालामा करिब एक हजारको संख्यामा गाइगोरु राख्ने योजना रहेको नगर प्रमुख महादेव वजगाईले बताए ।

गौशालामा प्रांगारिक मल उत्पादनका साथै गहुत प्रशोधन गरिने जनाइएको छ । अहिलेसम्म नेपालमा गहुत प्रशोधन नहुने भएकोले भारतबाट ल्याउनुपर्ने बाध्यता हट्ने नगरप्रमुख बजगाईले बताए। प्रांगारिक मल प्रतिकिलो १० रुपैयाँमा बेच्ने योजना पनि रहेको उनले बताए ।

बलचौर कैलाशधाम तीर्थस्थलमा पुजा सामाग्री पनि उत्पादन गरिने जनाइएको छ । यसैबीच कैलाशधाम मन्दिर निर्माणका लागि लम्कीमा महायज्ञ शुरु गरिएको छ । महायज्ञको मुख्यमन्त्री भट्टले उद्घाटन गरे ।

यसैबीच मुख्यमन्त्री भट्टले लम्कीचुहा नगरपालिकामा बन्न थालेको आधुनिक वसपार्कको शनिवार नै शिलन्यास गरेका छन् । नगरका १६ वटा गौरवका योजनामध्ये एक वसपार्क निर्माणमा दुई करोड २४ लाख खर्च हुने नगर प्रमुख वजगाईले बताए ।

१९ कट्ठा क्षेत्रफलमा बन्ने यो बसपार्कमा ५० वटा वसलाई राती पनि राख्ने सुविधा हुनेछ । सो वसपार्क आगामी एकवर्ष भित्र निर्माण हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार