२२ बैशाख २०८१, शनिबार

नेकपाको ८८ वटै स्थानीय तहमा पार्टी एकीकरण सकियो (भिडियाेसहित)



धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई एकताबद्ध भएर पार्टी कार्यमा लाग्न निर्देशन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह कमिटीको सर्वसम्मतीमा टुंगो लागेर पार्टी एकता प्रक्रिया पुरा भएको बताएका हुन् । उनले पार्टी एकीकृत भइसकेको बेला कार्यकर्ताहरुलाई देशको राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, विकास र समृद्धिका लागि दृढतापूर्वक एकता बद्ध भएर अगाडि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गरे ।
उनले सुदूरपश्चिम प्रदेश अन्तर्गतका नौं वटै जिल्लाका उपमहानगरपालिका लगायतका सबै नगरपालिका, गाउँपालिका र वडाहरुमा एकीकृत पार्टी कमिटीहरु निर्माण सम्पन्न भएको बताए । ‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अब भातृसंगठन एकीकरणको कामपनि छिट्टै टुंगो लगाइने छ ।’

उनले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गरे ।
दुई दिनसम्म बसेको प्रदेश पदाधिकारीहरुको बैठकले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहको पूर्ण कमिटीसंगै अधिकांश वडा कमिटीहरु पनि टुंगो लगाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दुई दिन सम्म चलेको बैठकमा प्रदेश इन्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार