२० बैशाख २०८१, बिहीबार

धुमधामसंग मनाइयो, तिजियागुडिया



धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका रानाथारु समुदायका महिलाहरूले शनिबार धुमधामसंग तिजियागुडिया (तीज) पर्व मनाएका छन् । रानाथारु समुदायमा साउन शुक्ल तृतीयामा तिजियागुडिया पर्व मनाउने प्रचलन छ ।


रानाथारु महिलाहरूले दिनभर निर्जल ब्रत बसेर दाजुभाई तथा भतिजाहरूको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै पुजाउपासना गर्ने गर्दछन् ।
हरेक वर्ष साउनको १ गतेदेखि तिजियागुडिया मनाउने गरिन्छ । पर्वका अवसरमा रानाथारु महिलाले “सावनको डोला (लिंगेपिङ)’ खेल्ने गर्दछन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३, कैलाली गाउ“का धनबहादुर रानाका अनुसार महिलाहरूले दिनभर पानीसमेत नपिएर व्रत बस्छन् । त्यस्तै, खानाका विभिन्न परिकार बनाउने, गीत गाउने, नाच्ने र पिङ खेल्ने गर्दछन् । ब्रतको दिन सा“झ ब्रतालु महिलाहरू एक साथ नदी किनारमा गएर दाभ (कुस) को बोटमा झुर्खी (चुल्ठी) बा“धेर विभिन्न परिकारलाई प्रसादको रुपमा चढाउने गर्दछन् । नदी किनारमा जानुअघि महिलाले लिंगेपिङको डोरी काटेर लग्ने र झुर्खीसंगै बिसर्जन गर्ने चलन रहेको छ ।
कैलाली गाउ“की गोमती रानाका अनुसार झुर्खीको पुजाआजापछि त्यसलाई उखेलेर वा चाँदीको सिक्काले काटेर नदीमा बिर्सन गर्ने चलन रहेको छ । उनले भनिन्– “जति ठूलो नदीको धार, त्यति लामो मेरो दाजुभाई, भजिताको आयु’ भन्दै झुर्खी विसर्जन गर्ने गरिन्छ । उनले नदीको लम्बाई जस्तै आफ्ना दाजुभाई र भजिताको उमेर बढ्ने विश्वासका साथ ब्रत पुजा गर्ने चलन रहेको बताइन् । यसरी बनाएर बगाइने झुर्खीमा विवाहित महिलाले सात गाठो र अविवाहित महिला पाच गा“ठो बाध्ने चलन छ ।


झुर्खी विसर्जनपछि आपसमा प्रसाद बा“डेर ब्रत तोड्ने चलन रहेको पनि उनले बताइन् । त्यसपछि घर आएर दिनभरि बनाएका परिकारहरू सिमही, खुजुरिया, गुलगुला, पुरी, अचार खाने र छरछिमेकमा बाड्ने चलन छ ।
रानाथारु समाजका अध्यक्ष जीवन रानाथारुले अरु नेपाली महिलाहरू झैं रानाथारु महिलाका लागि तिजियागुडियाको विशेष महत्व रहेको बताइन् । उनले भनिन्– तीजको वेला प्रायः विवाहित महिलाहरू माइती जान रुचाउछन् । माइती जान नपाएका महिलाहरूले दुःख वेदनाका गीत गाउने र साथीसंगीसंग भेट हुदा उमंगका गीत गाउने गरिन्छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य मालामती रानाथारुले दाजुभाई र भतिजाहरूको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले व्रत बस्ने गरेकाले यसले पारिवारिक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन् ।
कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउपालिका र कञ्चनपुरको भीमदत्त, कृष्णपुर, पुनर्बास, बेलौरी, शुक्लाफाँटा, वेदकोट र महाकाली नगरपालिका तथा लालझाडी गाउँपालिकामा रानाथारु समुदायको बाक्लो बसोबास छ ।


यसैबीच, धनगढी उपमहानगरपालिका वडा नम्बर १३, कैलाली गाउँमा शनिबार तिजियागुडियालाई महोत्सवको रुपमा मनाइएको छ ।
न्यु नवदुर्गा युवा क्लवले आयोजना गरेको कार्यक्रममा प्रदेश सभा सांसद् डिल्लीराज पन्त, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, वडाध्यक्ष विजयराज जोशी, रानाथारु समाजका अध्यक्ष जीवन राना, लगायत सामाजिक अगुवा, जनप्रतिनिधि तथा ठूलो संख्यामा रानाथारु समुदायको सहभागिता रहेको थियो ।
सो अगवसरमा प्रदेश सभा सदस्य पन्तले रानाथारु महिलाको विशेष सांस्कृतिक, धार्मिक पर्वका रुपमा रहेको तिजियागुडिया अझ भव्य रुपमा मनाउनु पर्ने बताए । उनले रानाथारु समुदायको भेषभूषा, पोशाकको व्यवसायिक उत्पादनका लागि कार्यक्रम सञ्चालन गरिने बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख मिश्रले रानाथारु समुदायका महिलाले दाजुभाई, र भतिजाका लागि ब्रत बस्नु छुट्टै महत्व रहेको बताइन् । उनले अघिल्लो पुस्ताको संस्कृतिलाई जोगाइराख्न नयाँ पुस्ताको सहभागिता महत्वपूर्ण रहेको बताइन् ।
रानाथारु समाजकी केन्द्रीय अध्यक्ष जीवनले साउनमा पिङ खेल्ने चलन हराउँदै गएकोमा अहिले पुनः शुरु भएको बताइन् । उनले एक महिनादेखि नै पिङको लागि खम्बा तयार गर्ने, डोरी बाट्ने चलन फेरि देखिन थालेको बताइन् ।
कार्यक्रममा पूर्व सांसद् प्यारेलाल राना, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी तथा शिक्षक, बुद्धिजिविहरूले पनि मन्तव्य व्यक्त गरेका थिए ।
शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ६, मटियारी, वडा नम्बर ७ मनेहरा लगायतका स्थानमा पनि धुमधामसं तिजियागुडिया मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार