१० श्रावण २०८१, बिहीबार

अविरल वर्षापछि गुम्बा सम्पर्कबिहीन



लक्ष्मीराज पाध्याय/बाजुरा । अविरल वर्षापछि खोलानदीमा आएको बाढीका कारण बाजुराको सबैभन्दा विकट मानिने गुम्बागाउँ शेष क्षेत्रसंग सम्पर्कबिहीन बनेको छ । गुम्बागाउँ हिमाली गाउँपालिकाको वडा नम्बर ३ मा पर्दछ ।


लगातारको झरीपछि गुम्बागाउँ जाने बाटोमा पर्ने खोलाहरूमा बाढी आएको छ । गुम्बागाउँमा सञ्चार सुविधा पनि पुगेको छैन । स्थानीयका अनुसार वर्षायाममा मात्रै नभएर अन्य मौसममा पनि ठूलो वर्षा हुदा गुम्बागाउँ सम्पर्कबिहीन हुने गरेको छ ।
हिमाली गाउँपालिका वडा नम्बर ३ बिच्छ्याको गुम्बा गाउँ सदरमुकाम मार्तडीबाट ४५ कोषको दुरीमा रहेको छ । त्यहासम्म पुग्न पैदल चार दिन लाग्ने गरेको स्थानीयले बताए । स्थानीय रिम्पोजे लामाका अनुसार गुम्वागाउमा २५ परिवारको बसोबास रहेको छ । वडा सचिव गौरिकान्त सञ्ज्यालले भने– पैदल मार्ग अवरुद्ध भएको छ । सञ्चार सेवा छैन । त्यहाको अवस्था कस्तो छ भन्ने कुनै जारकारी छैन ।

गुम्बागाउँ जाने बाटोमा प्रायः खहरे खोला रहेका छन् । तर, वर्षायाममा यी खोलाहरु उन्मत्त भएर उर्लिने गरेका छन् । स्थानीयका अनुसार हिउदमा पनि तर्नका लागि समस्या हुने गरेको छिन्दु खोलामा वर्षायाममा ठूलो बाढी आउने गरेृको छ । स्थानीयहरु भन्छन्– भिरालो भएकाले खोलामा पौडेर पार गर्न निकै कठिनाई हुन्छ ।
छिन्दु खोलामा हिउदमा काठेपुल निर्माण गरिए पनि वर्षातमा बगाउने गरेको छ । छिन्दु खोलामा झोलुंगे पुल नभएका कारण आवतजावतमा निकै समस्या हुने गरेको स्थानीयको गुनासो छ ।
वर्षायाममा आवागमन बन्द भएकाले गुम्बागाउबासी खोप सेवा सहितका स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा लिन अथवा अन्य कामका लागि गुम्बाबासीले खोलामा जोखिम मोलेर पार गर्ने गरेका छन् । गुम्वागाउबाट बिच्छ्याको बौडीगाउसम्मको बाटोमा दुई वटा खोला रहेका छन् । दुवै खोलमा झोलुंगे पुल छैनन् ।
स्थानीयले गुम्बा जाने बाटोमा पुल निर्माणका लागि बारम्बार अनुरोध गरे पनि कहीकतैबाट सुनुवाई नभएको गुनासो गरे । वडा सचिव गौरीकान्त सञ्ज्यालले पनि गुम्वा निकै विकट भएकाले आफू अहिलेसम्म त्यहा नगएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार