१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारकाे बजेट सर्वसम्मतिबाट बजेट पारित



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रदेश सभाबाट सर्वसम्मतिबाट पारित भएको छ ।


बिहिबार दिउँसो बसेको प्रदेश सभाको प्रदेश सरकारको बजेट सुदूरपश्चिम प्रदेश सभाबाट सर्बसम्मतिमा पारित गरेको हो । बिहीबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सांसदहरुको प्रश्नको जवाफ दिदै बजेट पारित गर्न प्रस्ताव पेश गरेका थिए ।
मन्त्री बोहराको प्रस्तावलाई सभामुख अर्जुनबहादुर शाहले निर्णयार्थ पेश गरेपछि सत्तारुढ नेकपा सांसद्हरुले बजेट पास गर्न ‘हुन्छ’ भनेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद्हरुले ‘हुन्छ’ वा ‘हुन्न’ मध्ये कुनै पनि जवाफ दिएनन् ।
प्रदेश सरकारको बजेटको सत्ता र प्रतिपक्षका सांसद्हरुले कडा विरोधका जनाएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलले सत्तापक्षका सांसद्हरुमाथि ह्वीप जारी गरेरपछि बजेट सर्वसम्मतिमा पारित हुन भएको हो । बजेट पारित भएपछि प्रतिक्रिया दिंदै अर्थमन्त्री बोहराले सबैलाई सन्तुष्ट बनाउन सक्ने खालको बजेट कुनै पनि ठाउँमा आउन नसक्ने बताए । उनले असन्तुष्टी भएपनि बजेट ल्याउनमा आफू सफल भएको प्रतिक्रिया दिए ।


आर्थिक वर्ष २०७६÷०७७ को राजश्व र व्ययको अनुमान (बजेट) कार्यान्वयन गर्न बनेको विधेयक २०७६ र विनियोजन विधेयक २०७६ पारित गर्न अर्थमन्त्री बोहराले प्रस्ताव पेश गरेका थिए । बिहीबार बिहानको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बजेटमाथिको छलफल सकिएपछि बिहिबार दिउँसो ३ बजे बोलाइएको थियो ।
यसअघि, प्रदेश सभामा बजेटमाथि छलफलको क्रममा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री बोहराले बजेटलाई सन्तुलित बनाउन प्रदेश सरकारको मन्त्री परिषद्ले नै निर्णय गरेको बताए । उनले अर्थ विविध शिर्षक र भौतिक पुर्वाधार विकास मन्त्रालयमा बचेको रकमबाट बजेट नपुगेको क्षेत्रमा विकासका कार्यक्रम राखी बजेटलाई सन्तुलित बनाउने बताए ।
समानुपातिक सांसद्हरुलाई अन्याय भएको विषयमा कार्यविधि संशोधन गरेर सभानुपातिक सांसद्हरुलाई सम्मान हुने गरिने अर्थमन्त्री बोहराले बताए । उनले नियमकानुन न्युनतम मापदण्ड भएकाले स्वनियमन भए मात्रै भ्रष्टाचार अन्त्य हुने बताए । ‘स्वनियमन भएन भने नियत खराव भएका मानिसले जतिसुकै कडा कानुन भएपनि प्वाल पारिहाल्छ,’ अर्थमन्त्री बोहराले जवाफ दिए, ‘भ्रष्टाचारीलाई कारबाही गर्न प्रदेश सरकार प्रतिवद्ध छ । भ्रष्टाचार भएको छ भने प्रमाण सहित ल्याउनुस् । जुनसुकै कर्मचारी भएपनि हामी कारबाही गर्छौ ।’
आयातलाई प्रतिस्थापन गर्ने मुख्य उद्देश्यका साथ बजेट व्यवस्था गरिएको दावी गर्दै अर्थमन्त्री बोहराले कृषि र निर्यातमुखी उद्योगलाई प्र्राथमिकता दिएको बताए । उनले आउँदो तीन वर्षमा कृषिमा आत्मनिर्भर हुने र निर्यात गर्ने सामाग्री उत्पादन गर्ने उद्योगलाई विशेष छुटको व्यवस्था गरेको बताए ।

प्रदेश गौरवको योजना अन्तरगत जलविद्युत निर्माणका लागि समेत प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरेको अर्थमन्त्री बोहराले बताए । जलविद्युत निर्माणका लागि मोडल तयार भइरहेको बताउँदै उनले आगामी आर्थिक वर्षमा २०÷३० मेगावाट विद्युत उत्पादन गर्ने जलविद्युत आयोजना प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण गर्ने बताए ।
अर्थमन्त्री बोहराले प्रदेशका नौ वटै जिल्लामा प्रदेश गौरवमा सडकहरु छनौट भइसकेकाले सोको निर्माणका लागि ४२ करोड रुपैयाँ विनियोजन गरिएको बताए । उनले आवश्यकताका आधारमा साना ठूला सबै क्षेत्रका योजनामा बजेट छुट्याएको बताए । उनले बजेट सन्तुलित नै रहेको दावी गर्दै केही क्षेत्रमा बजेट नपुगेको भए अर्थ विविध शिर्षकको बजेटबाट सम्बोधन गरिने बताए । उनले प्राविधिक त्रुटी भएका बजेट समेत सच्याइने प्रतिवद्धता यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले गरिसकेको हुनाले सच्याउनेमा कुनै द्वुविधा नरहेको बताए ।
लामो समयसम्म बजेटकै विषयलाई लिएर अवरुद्ध भएको प्रदेश सभाको बैठक सरकार र प्रतिपक्षीबीच भद्र सहमित भएपछि असार २१ गते मात्रैदेखि प्रदेश सभामा बैठक सञ्चालन भएको थियो । २२ गतेदेखि लगातार बैठक बसेर प्रदेश सभामा बिहिबारसम्म बजेटमाथि छलफल गरिएको थियो ।
बजेटमाथि छलफलका क्रममा सत्तापक्षका सांसद्हरुले अनियमित तरिकाले कार्यक्रम राखेर बजेट विनियोजन गरेको भन्दै सरकार ढाल्नेसम्मको चेतावनी दिंदै बजेटको चर्को आलोचना गरेका थिए । प्रतिपक्षी दलहरुले बजेट असन्तुलित, सुशासन ऐनको मर्म विपरित र भ्रष्टाचारलाई बढावा दिने खालको बजेट प्रदेश सरकारले ल्याएको भन्दै रातो किताव जलाउनुका साथै १५ दिनसम्म संसद् अवरुद्ध गरेका थिए ।

आउँदो बजेट ९० प्रतिशत खर्च हुन्छः अर्थमन्त्री बोहरा


बजेट पास भइसकेपछि अर्थमन्त्री बोहराले सुदूरपश्चिम प्रदेश सरकारको आउँदो आर्थिक वर्षको बजेट अत्यधिक खर्च हुने बताए । उनले संघीय सरकारले धेरै जसो कार्यालयहरु प्रदेश सरकार मातहत दिइसकेको र कर्मचारी समेत समायोजन भएकाले बजेट कार्यान्वयनको आधार पनि तयार भएको बताए । उनले प्रदेश लोकसेवा विधेयक प्रदेश सभामा आइसकेको हुनाले सो विधेयक पास गरी कर्मचारी भर्ना गर्ने र करारमा समेत कर्मचारी भर्ना गरी आउँदो वर्ष ९० प्रतिशत भन्दा बढि बजेट खर्च गर्ने बताए ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट ५४ प्रतिशत खर्च भइसकेको अर्थमन्त्री बोहराले बताए । उनले भौतिक प्रगति भइसको र भुक्तानी गर्न बाँकी रहेको बताउँदै आर्थिक वर्ष सकिदासम्म ७० प्रतिशत भन्दा बढि खर्च हुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार