१० श्रावण २०८१, बिहीबार

सेती अस्पतालमा पूर्वाधार र उपकरणको अभाव हुन दिन्नः मुख्यमन्त्री भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पतालमा आवश्यक पूर्वाधार र उपकरणको अभाव हुन नदिने वताएका छन् ।

गणतन्त्र दिवसको पूर्व सन्ध्यामा मंगलबार आयोजित सेती अञ्चल अस्पताल क्षेत्रको सरसफाइ कार्यक्रमको नेतृत्व गर्दे मख्यमन्त्री भट्टले त्यसका लागि अस्पतालको व्यवस्थापन पक्ष, स्वास्थ्यकर्मी र कर्मचारीले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए । उनले अस्पतालको विभिन्न वार्डको समेत अनुगमन समेत गरे । मुख्यमन्त्रीले अस्पतालका सेवा सुविधा अझै व्यवस्थित गर्न प्रदेश सरकारले गर्नुपर्ने कामको सुझाव लिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेय अस्पतालको सम्पूर्ण अवस्था सुधार गरिरहेको वताए ।
सेती अञ्चल अस्पताल प्रदेश सरकार मातहत हस्तान्तरण भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको सो सरसफाइ कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु र स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । मुख्यमन्त्री सहितको टोलीले अस्पताल परिसरको भित्री र बाहिरी भागको सरसफाई गरेको थियो । गणतन्त्र दिवसकै अवसरमा बुधबार अस्पतालका विमारीलाई फलफुल वितरण कार्यक्रम रहेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार